
काठमाडौं । खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणको आशंकामा विहीबार स्वाबको नमूना परीक्षण गरिएको थियो । शुक्रबार विहान थापालाई कोरोना संक्रमण भएको रिपोर्ट आएको मन्त्री थापाको सचिवालय स्रोतले जनाएको छ ।
अहिले मन्त्री थापाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । थापाले निवासमै आराम गरिरहेको सचिवालयले जनाएको छ । चारदिन अगाडि थापाकी छोरीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
सरकारका अर्का मन्त्रीलाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको थियो । ऊर्जा मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण भएको थियो र उनको हाल स्वास्थ्य अवस्था सुधारन्मुक रहेको बताइएको छ ।
काठमाडौँपछि कोरोनाको दोस्रो हटस्पट बनेको बाँकेका अस्पताल संक्रमितले भरिएका छन् । करिब ९० जना स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण भएको छ । सरकारले थप स्वास्थ्यकर्मी पठाउने निर्णय गरेपनि संक्रमितको उपचारमा खटिने गरी त्यहाँ उनीहर नपुगेको बताइएको छ । अहिलेसम्मकै धेरै विहीबार ११ जनाको संक्रमितको ज्यान गयो ।
बाँकेका अस्पतालमा उपचार गराइरहेका बाँकेका ८ जना, कैलालीका दुई र बर्दियाका एक जना गरी ११ जनाको ज्यान गएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जनाएको थियो ।
ज्यान गुमाउनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ६० वर्षीय पुरुष, वडा नं ९ निवासी ४२ वर्षीय पुरुष, वडा नं ५ निवासी ५५ वर्षीय पुरुष, वडा नं ८ निवासी ३३ वर्षीय पुरुष, वडा नं १७ निवासी ६८ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–११ निवासी ४३ वर्षीया महिला, वडा नं १३ निवासी ५० वर्षीय पुरुष, खजुरा गाउँपालिका–२ निवासी ६७ वर्षीया महिला रहेका छन् ।
यसैगरी बाँकेमा उपचारका लागि आउनुभएका बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ३२ वर्षीय पुरुष, लम्कीचुहा नगरपालिका वडा नं १ कैलाली निवासी ४३ वर्षीय पुरुष र टीकापुर नगरपालिका कैलाली निवासी ५१ वर्षीय महिलाको पनि ज्यान गएको थियो ।
विहीबारसम्म बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११० पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा उपचारकै क्रममा हालसम्म १११ जनाको .ज्यान गइसकेको छ ।
- फाइल फोटो