
काठमाडौं । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप लगाउन रोक लगाइएको छ । सरकारले तत्कालका लागि चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउने काम स्थगित गरेको हो ।
कोरोना भाइरस संक्रमणको बढ्दो जोखिममा खोप लगाउदा भिडभाड हुने र संक्रमण फैलिन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समयका लागि खोप लगाउने काम स्थगित गरेको हो ।
त्यसैगरी दोस्रो डोजको कोभिसिल्ड खोप लगाउने काम पनि तत्कालका लागि रोकिएको छ । मन्त्रालयको परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार कोरोना संक्रमणको बढ्दो जोखिममा खोप लगाउनका लागि हुने भीडभाडका कारण तत्काललाई कोभिड खोप कार्यक्रम स्थगित गरिएको छ ।
अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि देशभर कोभिड विरुद्धको खोप कार्यक्रम आजबाट स्थगित गरिएको छ । पछिल्लो समय कोभिडको खोप लगाउनका लागि खोप केन्द्र भएको भीडका कारण संक्रमणको जोखिम बढाएको भन्दै आलोचना समेत भइरहेको थियो ।
निषेधाज्ञा जारी गरिएका कारण खोप केन्द्रसम्म आउन समस्या हुने र लामो बाटो हिडेर आउँदा निषेधाज्ञाको उलंघन हुने भएकोले पनि खोप कार्यक्रम स्थगित गरिएको बताइएको छ । महाशाखाका अनुसार कोरोनाबाहेक अन्य सबै प्रकारका खोपहरु भने यथावत् रुपमा सञ्चालन हुने छन् ।
खोप कार्यक्रम जारी रहेपनि नेपालमा कोरोना संक्रमण तीब्र बन्दै गएको छ । बुधबार मात्रै थप ४ हजार ८९७ जना संक्रमिम भएका थिए । जसमध्ये दुई हजार बढी काठमाडौँ उपत्यकामा मात्रै रहेका छन् । बुधबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगको छ ।
कोरोनाको नयाँ भेरियन्टसहितको संक्रमण तीब्र रुपमा फैलिरहेको छ ।