आज :

नेकपाको केन्द्रीय समिति बैठकः एमसीसीविरुद्ध संघर्ष गर्ने, जनमत संग्रहलाई जनताबीच लैजाने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले संसदबाट पास गर्ने तयारी भइरहदा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच नयाँ सरकार गठनसँगै एमसीसी संसदबाट पास गर्ने सहमति भएको चर्चाबीच नेकपाले यस्तो निर्णय गरेको हो ।

पार्टीमाथिको प्रतिबन्ध हटेपछि पहिलो पटक बसेको केन्द्रीय समितिको १० औं पूर्ण बैठकले सो निर्णय गरेको हो । यसअघि प्रतिबन्धको बीच पनि नेकपाले एमसीसी पास नगर्न माग गर्दै विरोधका कार्यक्रम गर्दै आएको थियो ।

मंगलबार सम्पन्न बैठकले नयाँ परिस्थितिको असाधारण जिम्मेवारीलाई आत्मसाथ गर्दै राज्य रूपान्तरणको कार्यभार पूरा गर्ने दिशामा अघि बढ्ने मूल उद्देश्यसहितको नयाँ राजनीतिक प्रस्ताव पारित गरेको छ ।

बैठकमा पार्टी महासचिव विप्लवले प्रस्तुत गरेको नयाँ राजनीतिक दस्ताबेजमा अग्रगामी राजनीतिक निकासका लागि सबै पक्षसँग संवाद गर्ने विषय उल्लेख छ । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार अग्रगामी राजनीतिक निकास र राज्य रूपान्तरणको सवाललाई मुख्य विषय बनाउँदै वर्तमान अवस्थामा देशको नेतृत्व लिने गरी जनवादी केन्द्रीयताको उच्च अभ्याससहित छलफल गरिएको छ ।

त्यसैगरी बैठकले पार्टीको कार्यनीतिक नारा बनाउँदै जनमत संग्रह र प्रगतिशील सरकार निर्माणलाई जनताको बीचमा लैजाने निर्णय गरेको छ । प्रगतिशील संयुक्त सरकार र जनमतसङ्ग्रहलाई जनताका बीचमा घनीभूत रूपमा लग्नका लागि आफ्ना सबै तहका नेता–कार्यकर्तालाई जनतामा पठाउने पनि निर्णय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

नेकपाले वर्तमान संसदीय व्यवस्था वा वैज्ञानिक समाजवाद भन्ने विषयमा जनमतद्वारा टुङ्ग्याउने बताउँदै विद्यमान समस्यालाई जनमतसङ्ग्रहले मात्रै दिन सक्ने बैठकले निस्कर्ष निकालेको थियो ।

देशको बिग्रँदो अवस्थाबाट निकास दिनका लागि सचेत पहल गर्ने र त्यसका लागि नेपाली काङ्ग्रेस, नेकपा एमाले, माओवादी केन्द्रदेखि जसपालगायत सबै पार्टीसँग संवाद र छलफल अघि बढाउने निर्णय पनि बैठकले गरेको छ । रणनीतिक संयुक्त मोर्चालाई नयाँ उचाइका साथ अगाडि बढाउने, विभिन्न कार्यक्रमहरू मोर्चामार्फत अघि बढाउने र क्रान्तिकारी ध्रुवीकरणको प्रक्रियालाई जोड दिने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै नेता–कार्यकर्ता र जनतासँगको सम्बन्ध जीवन्त बनाउन र पार्टीका योजना जनतामा पुर्याउनका लागि सबै स्तरका नेता–कार्यकर्ताहरू प्रत्यक्ष जनताका बीचमा पुग्ने निर्णय पनि बैठकले गरेको छ ।

उक्त कार्ययोजना पूरा गर्न नेकपाले आगामी ४ महिनासम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । ‘क्रान्तिकारी एकता र ध्रुवीकरणमा जोड दिऔँ, सुमधुर जनसम्बन्धसहित सृदृढ पार्टी निर्माण गरौंँ’ भन्ने मुख्य नारा रहेको उक्त अभियानमा नेकपाका नेता–कार्यकर्ताले जनतालाई आफ्नो पार्टीको नीति र कार्यक्रम बुझाउनुका साथै जनसेवा र उत्पादनमूलक कार्यमा सहभागी हुने निण्यि बैठकले गरेको छ ।

बैठकले कोरोना महामारीको समस्यालाई दृष्टिगत गर्दै पूर्वनिर्धारित सबै जनवर्गीय सङ्घ÷सङ्गठनहरूका भेला÷सम्मेलन स्थगित गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा केन्द्रीय सदस्यहरुले सरकारसँग ३ बुँदे सहमतिपछि बन्दी रिहाइ र मुद्दा खारेजीको प्रक्रियामा गरिएको ढिलाइप्रति विशेष चासो, आशङ्का र प्रश्न गरेका थिए । जबाफमा महासचिव विप्लवले बन्दी बनाइएका सबै तहका नेता–कार्यकर्ताहरू सरकारसँग भएको सहमतिअनुसार छिट्टै रिहा हुने विश्वास व्यक्त गर्दै पार्टीका तर्फबाट थप पहल गर्ने जानकारी बैठकमा गराएका थिए ।

देश कोरोना महामारीले आक्रान्त बनिरहेको समयमा कोरानोका विरुद्धको लडाइँ सबैको सरोकारको विषय भएकाले सबैलाई जागरुक बनाउनुका साथै कोरोनाविरुद्धको लडाइँमा पार्टीका तर्फबाट देशैभरि कार्यकर्ता परिचालन गर्ने र आफ्नो तर्फबाट पहल गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले सांगठानिक क्षेत्रमा ठूलो हेरफेर गरेको बताइएको छ । नयाँ राजनीतिक परिस्थितिका आधारमा आफ्ना एजेन्डाहरू प्रत्यक्ष र सहज रूपले जनतामा पुर्याउन सहज हुने गरी साङ्गठनिक संरचना हेरफेर गरेको बताइएको छ । त्यस्तै, आगामी महाधिवेशनका विषयमा पनि बैठकमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal