
काठमाडौँ । उत्तरी छिमेकी चीनले कोरोना भाइरससँगको लडाइँमा नेपाललाई थप सहयोग गर्ने जनाएको छ । कोरोना संक्रमणको सुरुदेखि स्वास्थ्य सामाग्री र खोप सहयोग गरेको चीनले थप चिकित्सा उपचकरण सहयोग गर्ने जनाएको छ ।
नेपाल, अफगानिस्तान, बङ्गलादेश, चीन, पाकिस्तान र श्रीलङ्काका विदेश मन्त्री सम्मिलित अप्रत्यक्ष सम्मेलनलाई मङ्गलवार चीनले थप सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।
सम्मेलनका क्रममा चीनको राज्य परिषद् सदस्य तथा विदेश मन्त्री वाङ यीले कोरोनाविरुद्धको नेपालको राष्ट्रिय लडाइँमा चिनियाँ युआन ५० लाख बराबरका चिकित्सा उपकरण र सामग्री अतिरिक्त अनुदान स्वरूप उपलब्ध गराउने घोषणा गरेका हुन् ।
सम्मेनमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ विरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको बताएका थिए ।
सम्मेलनमा सहभागी मन्त्रीहरुले कोभिड–१९ को महामारीविरुद्ध लड्न, रोजगारी र नागरिकको जीवन जोगाउन तथा अर्थतन्त्रलाई पुनर्जीवन दिन व्यावहारिक सहयोगलाई सबल बनाउन सहमति जनाएका थिए ।
कोरोना भाइरस चीनबाट उत्पति भएपनि उसले आफ्ना नागरिकलाई सुरक्षित राख्न सफल भएको छ । चीनले कोरोनालाई पराजित गर्न सफल भएको घोषणा गरिसकेको छ ।
आफ्ना नागरिकलाई सुरक्षित राखेको चीनले नेपाल, भारत, युरोपलगायतका देशहरुलाई सहयोग गर्दै आएको छ । विश्वभर भेन्टिलेटर, अक्सिजनको अभाव भइरहेको बेला चीनले त्यस्ता देशहरुमा पुर्याउँदै आएको छ । कोरोना नियन्त्रण गर्न चीनले महत्वपूर्ण भूमिका खेलेको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले आफै नागरिकको बस्तीमा पुगेर कोरोनापछिको नयाँ जीवनमा हौसला थपिरहेका छन् । पहिलो पटक कोरोनाले आक्रान्त भइरहेको बेला वुहानमै पुगेर संक्रमितको अवस्थाबारे जानकारी लिएका थिए । चीनले कोरोना भाइरसविरुद्धको खोप पनि उत्पादन गरिरहेको छ । नेपाललाई अनुदान दिएको खोप अहिले लगाइराखिएको छ । चीनले आफ्ना नागरिकलाई खोप लगाएर सुरक्षित राख्ने अभियान पनि जारी राखेको छ ।