
काठमाडौँ । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारीसँगै अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक जान रोक लगाइएको छ । सरकारले नेपाल कोरोनाको ट्रान्जिट बन्न नदिने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थानमा रोक लगाएको हो ।
वैशाख १५ गते मध्यरातदेखि लागू हुने गरी विमानस्थलबाट अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाइएको अध्यागमन विभागले जनाएको छ । त्रिभुवन विमानस्थललाई अन्तिम गन्तव्य बनाएर विदेशबाट आउन तथा उक्त विमानस्थलबाट विदेश जान पाउने व्यवस्थामा भने कुनै फेरबदल नगरिएको पनि उक्त विभागले जनाएको छ ।
कोरोना संक्रमण बढ्दै गएपछि विहीबार विहानबाट लागु हुने गरी एक हप्ताको लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । सोमबार तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले एक हप्ताको लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यो अवधिमा अत्यबश्यक बाहेक कुनै पनि सवारी साधन चलाउन नपाइने भएको छ ।
त्यसैगरी बाँके, बर्दिया, सुर्खेतमा पनि निषेधाज्ञा जारी गरिएको छ ।
कोरोनाको नयाँ भेरियन्ट कति गतिमा संक्रमण भइरहेको छ भन्ने कुरा बाँकेको भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणले देखाएको छ । ४७६ जनाको नमुना परीक्षण गर्दा ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । जसमा २०६ जना पुरुष र १७७ जना महिला रहेका छन् ।
संकलित नमुनाको चाप र डाटा इन्ट्री गर्ने सफ्टवेयरमा आएको समस्याले गर्दा सोमबार साँझ सार्वजनिक हुनुपर्ने रिपोर्ट मंगलबार सार्वजनिक गरिएको अस्पतालले जनाएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सोमबार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालगञ्ज मेडिकल कलेजमा १८८ जनाको नमुना परीक्षण गर्दा १४५ जना, बागेश्वरी कलेज कोहलपुरको ल्याबमा १६९ जनाको नमुना परीक्षण गर्दा १०९ जना र जमुनाहा नाकामा १६ जनाको परीक्षण गर्दा २ जनामा गरी कुल २५६ जनामा संक्रमण पुष्टि भएको थियो ।