आज :

एमसीसी संसदबाट पास गर्न प्रचण्ड सहमत, संकल्प प्रस्ताव तयार हुँदै

काठमाडौँ । विवादित मिलेनियम च्यालेन्ज कार्पोरेशन (एमसीसी) संसदबाट पास गराउन नेकपा (माओवादी केन्द्र) सहमत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन एमसीसी संसदबाट पास गराउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तयार भएका हुन् । नेपाली काँग्रेसको सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा बन्ने सरकारमा एमसीसी पास गराउन माओवादी सहमत हुनुपर्ने अडान राखेका थिए ।

एमसीसीको विषयकै कारण ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन ढिला भएको बताइएको छ । देउवाले एमसीसीमा अडान राखेपछि ओली सरकार ढाल्न ढिलाई भइरहेको नेताहरुले बताएका छन् । यसअघि प्रचण्ड एमसीसी हुबहु पास गर्न नहुने भन्दै आएका थिए । तर, सत्ता गठबन्धमा अवरोध भएपछि संसदबाट संकल्प प्रस्तावमार्फत एमसीसी पास गर्न प्रचण्ड तयार भएका छन् । नेताहरुले यसलाई मध्यमार्गी उपाय भनेका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डबीच प्रधानमन्त्री ओलीविरुद्ध केही दिनभित्रै अविश्वास प्रस्ताव दर्ता गराउने तयारी गरिरहेका दलहरूले त्यसपछि संसद्बाट एमसीसी सम्झौता अनुमोदन गर्ने गरी संकल्प प्रस्ताव ल्याउने सहमति जुटेको आजको कान्तिपुर दैनिकले समाचार प्रकाशित गरेको छ ।

यसअघि देउवाको नेतृत्वमा सरकार भएका बेला तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले एमसीसी सम्झौतामा नेपालका तर्फबाट हस्ताक्षर गरेका थिए । ओली नेतृत्वमा सरकार बनेपछि नेकपाकै एउटा धार एमसीसीप्रति कठोर बनेको थियो, त्यसैले संसद्मा यो सम्झौता दुई वर्षदेखि दर्ता भएर रोकिइरहेको छ ।

ओलीविरुद्धको सत्ता गठबन्धनका विषयमा छलफल चल्दा कांग्रेस सभापति देउवाले आफ्नो नेतृत्वको सरकार एमसीसी पास गर्ने पक्षमा हुने र त्यसमा माओवादीले समर्थन जनाउनुपर्ने बताएपछि केही समय कुरा यसै अड्किएको थियो । ‘एमसीसीमै अड्किने अवस्था आउने भएपछि हामीले मध्यमार्गी बाटो खोजेका हौं,’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालनिकट स्रोतले भन्यो, ‘अविश्वास प्रस्ताव पास भएर देउवाको नेतृत्वमा सरकार बन्नेबित्तिकै एमसीसीबारे संकल्प प्रस्ताव पास गर्ने गरी सहमतिको खाका तयार भएको छ ।’

उक्त स्रोतका अनुसार संकल्प प्रस्ताव पास भएपछि संसद्ले एमसीसी परिमार्जनसहित अनुमोदन गर्नेछ । ‘हामी कुनै सैन्य गठबन्धनमा छैनौं, हाम्रो असंलग्न परराष्ट्र नीति हो, छिमेकसँग या टाढाका मित्रसँग हाम्रो व्यवहार समान हुन्छ, विकासमा साझेदारीका लागि हामी हिजो पनि सबैसँग खुला थियौं, आज पनि छौं भन्ने खालका चार÷पाँच वटा बुँदामा संकल्प प्रस्ताव पास गर्ने मोटामोटी सहमति जुटेको छ,’ कांग्रेसका एक नेताले भने, ‘एमसीसी सम्झौतामा रहेका कतिपय प्रावधान स्पष्ट गर्नुपर्ने विषयमा नेपाल सरकारले अमेरिकासँग पत्राचार गर्ने भन्नेमा माओवादीका साथीहरू हुनुहुन्छ, हेरौं त्यसबारेमा के कुरा हुन्छ ।’

काँग्रेस नेताहरुले एमसीसीको संकल्प प्रस्ताव तयार पार्न जुटेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal