
काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय समिति बैठकले स्थायी कमिटी हेरफेर गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा भएको बैठकले १९ सदस्यीय स्थायी कमिटी बनाएको छ ।
एमाले स्थायी कमिटी बैठकमा नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूहलाई समावेश गरिएको छैन । त्यस्तै, पूर्वमाओवादी नेताहरु रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र लेखराज भट्टलाई स्थायी कमिटी सदस्यमा चयन गरेको छ भने प्रभु साह परेनन् ।
बैठकले पार्टीविरोधी गतिविधिमा संलग्न थप नेतालाई सोधिएको स्पष्टीकरण र प्राप्त जवाफबारे पनि बैठकमा छलफल भएको थियो । प्रतिनिधिसभामा रहेका २७ नेतामाथि सोधिएको स्पष्टीकरणबारे अध्ययन गरी निर्णय गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिइएको छ । यसअघि निलम्बन गरिएका नेता माधवकुमार नेपाल, भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डेलगायतलाई स्थायी कमिटीको सूचीबाट हटाइएको तथा नेकपा ९माओवादी केन्द्र०बाट प्रवेश गरेका रामबहादुर थापालगायतलाई समावेश गरिएको छ ।
समानान्तर गतिविधिमा रहेका नेताहरू फर्किएमा जिम्मेवारी दिइने भएको छ । बैठकले केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजन गरेको छ । अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमाथि प्राप्त सुझाब ग्रहण गरी एकीकृत रूप दिइएको छ । बैठकले समसामयिक विषयमा ११बुँदे प्रस्ताव पारित गरेको छ । ती प्रस्तावमा पार्टीमा समानान्तर गतिविधि रोकेर पार्टी एकताको मूल प्रवाहमा फर्कन आग्रह गर्दै जनप्रतिनिधिलाई उम्मेदारी दिने पार्टी र आफूलाई मत दिने जनताको सम्मान गर्न आग्रह गरेको छ ।
मूल प्रवाहमा फर्कने नेता–कार्यकर्तालाई सम्मानका साथ उचित जिम्मेवारी दिइने प्रवक्ता ज्ञवालीले जानकारी दिए । उनले पार्टी एकता र आन्दोलनको रक्षाका लागि वार्ता र सहमतिको पहल भइरहेकाले थप नेतालाई कडा कारबाही गर्नु नपरोस् भन्ने आफूहरूको चाहना रहेको स्पष्ट गरे ।
अध्यक्ष ओली र नेता नेपालसँगको पछिल्लो वार्ताबारे सोधिएका प्रश्नमा नेता ज्ञवालीले अध्यक्षका तर्फबाट पहल जारी रहेको र अर्का पक्षबाट पनि त्यस्तै सकारात्मक र एकताको पहलको अपेक्षा गरिएको बताए । बैठकले कोभिड– १९ को रोकथाममा जुट्न सबैमा तथा उपनिर्वाचनको तयारीका लागि तयार रहन कार्यकर्तालाई आग्रह गरेको छ । यस्तै, सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँगको सहमतिलाई स्वागत गर्दै शान्ति र विकासतर्फको यात्रा आरम्भका लागि नेपाल सरकारलाई धन्यवाद दिइएको छ ।