
काठमाडौं । नेकपा (एमाले) ले नेता माधवकुमार नेपाल पक्षीय सांसदहरुलाई स्पष्टीकरण सोधेको छ । नेपालसहित २० नेतालाई दुई दिने स्पष्टीकरण सोधेको दोस्रो दिनमै ओलीले नेपाल पक्षीय संघीय २७ र प्रदेश सांसद ५ सहित ३२ जनालाई ओलीले स्पष्टीकरण सोधेका छन् ।
एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव ईश्वरी रिजालका अनुसार नेता नेपालसहित संघका २७ र प्रदेशका ५ जनालाई साेमबार तयार गरिएकाे स्पष्टीकरण पत्र मंगलबार पठाइएको छ । पार्टीको स्पष्टीकरण पत्रमा पार्टी विधि विधान उलंघन गरेको आरोप लगाएको स्पष्टीकरण पत्रमा तीन दिनभित्र पेश गर्न भनिएको छ । पत्रमा छुट्टै राजनीतिक दल गठन गरेकोमा कारवाही किन नगर्ने ? संसद सदस्यबाट किन नहटाउने ? भनेर सोधिएको छ ।
प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेको भोलि पल्टै नेपाल समूहका सांसदहरुलाई कारवाहीको तयारीसहित स्पष्टीकरण सोधिएको हो ।
स्पष्टीकरण सोधिएका सांसदहरुमा माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, पवित्रा निरौला, झपट रावल, मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, झलनाथ खनाल, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ, नारायण खतिवडा, जयकुमार राई, गणेश पहाडी, दिपकप्रकाश भट्ट, योगेशकुमार भट्टराई, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, नीरादेवी जैरु, मुकुन्द नेउपाने, रामकुमारी झाक्री रहेका छन् ।
त्यसैगरी कर्णाली प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही, अम्बरबहादुर थापा, देवी ओली रहेका छन् ।