
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाउन नेपाली काँग्रेससहित पाँच पार्टीको गठबन्धन तयार भएको छ । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका गुरुङलाई हटाएर नयाँ मुख्यमन्त्री छनोट गर्ने पाँच पार्टीबीच भएको छ ।
नेपाली काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीबीच गुरुङविरुद्ध विश्वास प्रस्ताव ल्याउने सहमति भएको छ । माओवादी केन्द्रले अविश्वास प्रस्ताव फिर्ता लिएपछि नेकपा (एमाले)ले जनमोर्चाको साथ खोजेको थियो । तर, जनमोर्चाले प्रतिगमनकारीलाई साथ दिन नसकिने बताएको छ ।
चार पार्टीबीच मुख्यमन्त्री नेपाली काँग्रेसलाई दिने सहमति भएको नेताहरुले बताएका छन् । मुख्यमन्त्रीको लागि कांग्रेसका प्रदेससभाका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेल अगाडि सार्ने गृहकार्य भइरहेको छ ।
जनमोर्चाले मुख्यमन्त्री गुरुङलाई साथ नदिने निर्णय गरेसँगै एमालेले गण्डकी प्रदेशमा सरकारको नेतृत्व गुमाउने निश्चित भएको छ । तर, उसले अन्तिम प्रयास भने जारी राखेको छ ।
यसअघि मुख्यमन्त्रीको दाबी माओवादी केन्द्रले पनि गरेको थियो । काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच मुख्यमन्त्री काँग्रेसलाई दिने सहमति भएको स्रोतका दाबी छ । दुबै नेताले मंगलबार साँझ भएको भेटवार्ताको क्रममा सो सहमति जुटाएका हुन् ।
देउवा र प्रचण्डबीच भएको सहमतिपछि अब मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा प्रदेश सांसदहरु जुटेका छन् । कुल ६० सदस्य रहेको गण्डकी प्रदेशसभामा एमालेका मात्रै २७ जना सांसद छन् । तर, बहुमत पुग्नलाई ३१ जना आवश्यक पर्छ ।
प्रदेशमा नेपाली काँग्रेस दोस्रो ठूलो दल हो । उसँग १५ प्रदेशसभा सदस्य छन् । त्यस्तै माओवादी केन्द्रसँग १२ जना । माओवादीबाट निर्वाचित नेत्रनाथ अधिकारी सभामुख छन् । त्यस्तै, राष्ट्रिय जनमोर्चाका तीन र जनता समाजवादीका दुई प्रदेशसभा सदस्य छन् ।
एमालेले जनमोर्चाका सांसदहरुलाई सहमति मात्रै जुटाउन सकेमा सरकार नढल्न पनि सक्छ । तर चार पार्टीका शिर्ष नेताहरुबीच एमालेको सरकार विस्थापित गरी नयाँ सरकार बनाउनेमा सहमति भइसकेको बताइएको छ ।