
काठमाडौँ । आजबाट नेपाली नयाँ वर्ष २०७८ साल सुरु भएको छ । नेपालमा र विदेशमा रहेका नेपालीमाझ हर्षाेल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाउँदैछन् ।
आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, बैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।
नयाँ वर्षको लागि आज योजना बनाउने र नयाँ कामको सुरुवात गर्ने चलन समेत रहेको छ । आज धेरैले गएको वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्ने गर्दछन्।
आज बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने, तथा आफन्त, परिवार र साथीभाइसँग भेटघाट गर्दै मिसठान्न भोजन बनाएर खाने चलन छ । कोरोना भाइरसको सङ्क्रमणका कारण गएको वर्ष जस्तै यसपालि पनि सरकारले घरभित्रै नयाँ वर्ष मनाउन आग्रह गरेको छ । नयाँ वर्षका अवसरमा आज सार्वजनिक बिदा दिइएको छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको शुभकामना दिएका छन् । राष्ट्रपति भण्डारीले २०७७ साल राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धिपूर्ण रहेको बताएकी छन् ।
नयाँ वर्ष २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सासहितको निशाना छाप परिवर्तनका लागि संविधान संशोधन गर्न सम्पूर्ण राजनीतिक दलहरूबीचमा मतैक्य कायम हुनु, केही राजनीतिक समूह सशस्त्र विद्रोहको बाटो परित्याग गरी शान्तिपूर्ण मार्गमा आउनु महत्वपूर्ण राजनीतिक उपलब्धि भएको बताइन् ।
यस्तै संयुक्त राष्ट्रसंघद्वारा नेपाललाई अतिकम विकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गरिनु, विश्व खुशी प्रतिवेदन–२०२१ मा नेपाललाई दक्षिण एशियाको सबैभन्दा खुशी देशको रूपमा उल्लेख गरिनु, कोभिड–१९ महामारीविरुद्ध सरकारले अवलम्बन गरेको प्रभावकारी प्रतिकार्य रणनीतिका कारण मृत्युदरलाई अन्य देशको तुलनामा न्यून राख्न सफल हुनु, समयमै कोरोनाविरुद्धको खोप अभियानको थालनी हुनुजस्ता कार्य सकारात्मक उपलब्धि भएको राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ ।
कोरोना भाइरसको सङ्क्रमणको जोखिम उस्तै रहेकाले यसबाट बच्न पूर्वसावधानीका उपाय अपनाउन समेत भण्डारीले आग्रह गरिन् ।