
काठमाडौँ । नेपाल पत्रकार महासंघको अध्यक्षमा बिपुल पोखरेल विजयी भएका छन् । शनिबार दिउँसो सकिएको मत गणनाअनुसार पोखरेल नेतृत्वको पूरै प्यानल दोब्बर मतान्तरले विजयी भएको छ ।
नेपाली काँग्रेस निकट प्रेस यूनियन, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन, नेकपा एमाले नेपाल समूह निकट प्रेस चौतारी, क्रान्तिकारी पत्रकार संगठन नेपाल, प्रगतिशील पत्रकार संगठन, क्रान्तिकारी पत्रकार महासंघलगायत ११ संगठनका साझा उम्मेदवारहरुले दोब्बर बढी मतले विजयी भएका छन् । पोखरेलले ६ हजार ९४२ मत प्राप्त गर्दा निकटम् प्रतिस्पर्धी निर्मला शर्माले ३ हजार ९१५ मत मात्रै ल्याएर पराजित भइन् । शर्मा नेकपा एमाले ओली समूह निकट प्रेस चौतारी, विप्लव नेतृत्वको नेकपा निकट जनपत्रकार संगठन, प्रेस संगठनसहितका संगठनको साझा उम्मेदवार हुन् ।
महासंघको उपाध्यक्षमा रमेश विष्टले ६ हजार ७४१ मत ल्याएर विजयी भएका छन् भने प्रतिस्पर्धामा रहेका माधव नेपालले ३ हजार ७८१ मतमा सिमित भए । त्यस्तै महिला उपाध्यक्षमा बला अधिकारीले दाना केसीलाई पराजित गर्दै विजयी भएकी छन् । अधिकारीले ७ हजार २२६ मत प्राप्त गरेकी छन् । पराजित भएकी केसीले ३ हजार ५२८ मत ल्याएकी छन् ।
त्यसैगरी महासचिवमा रोसन पुरी विजयी भएका छन् । पुरीले ६ हजार २४२ मतका साथ बालकृष्ण बस्नेतलाई पराजित गरेका छन् । बस्नेतले ३ हजार ८६० मत प्राप्त गरेका छन् । महासंघको सचिवमा गोविन्द्रप्रसाद चौलागाई विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी बालकृष्ण ज्ञवालीलाई ६ हजार ७१ मतले पराजित गरेका छन् । ज्ञवालीले ३ हजार २१ मत मात्रै ल्याएका छन् ।
महासंघको महिला सचिवमा सिर्जना अर्याल ६ हजार ५८० मत ल्याएर विजयी भएकी छन् भने मुख्य प्रतिस्पर्धी निमा काफ्लेले ४ हजार ८९ मत ल्याएकी छन् । शर्मा प्यानलमा सबैभन्दा धेरै मत निमाकै रहेको छ । समावेशी सचिवमा नारायण सुन्दर किलम्बु ६ हजार ३ सय मत ल्याएर विजयी भएका छन् ।
नवनिर्वाचित अध्यक्ष पोखरेलले महासंघको निर्णय प्रक्रिया र नीति निर्माणमा दलीय प्रभाव पर्न नदिने प्रतिवद्धता जनाएका छन् । उनले श्रमजीवी पत्रकारहरुको हक हितका मुद्दाहरूलाई अगाडि लैजाने सम्बन्धमा आफूले कहीं कतै सम्झौता नगर्ने प्रतिवद्धता पनि जनाए ।