
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले थप दुई नेतामाथि कारवाही गरेपछि नेता माधवकुमार नेपाल समूहले स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएको छ ।
विहीबार ओलीले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पनि ६ महिना निलम्बन गरेका थिए । स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले निलम्बनको कारवाही गरेका हुन् ।
ओलीले कारवाही गरेलगत्तै नेपाल समूहका नेताहरु छलफलमा जुटेका थिए । स्थायी समिति बैठकबाटै थप कार्यक्रम गरेर ओलीको भण्डाफोर गर्नुपर्ने निष्कर्ष नेपाल समूहका नेताहरु निकालेका थिए । आज विहाहन ११ बजेलाई स्थायी समिति बैठक बोलाइएको छ ।
एक नेताका अनुसार बैठकले एमाले पुनर्गठन अभियानको घोषणा गरेर ओली तानाशाही ढंगबाट अगाडि बढेको भन्दै भण्डाफोर गर्ने निर्णय गर्नेछ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि २ जेठ २०७५ को पार्टी कमिटीहरु कायमै रहनुपर्ने नेपाल समूहको माग रहेको छ । ओलीले सबै कमिटी थपघट गरेसँगै नेपाल समूह चिढिएको थियो ।
त्यसको विरोधमा नेपाल समूहले केन्द्र, प्रदेश र जिल्लास्तरमा समानान्तर कमिटी घोषणा गरेको छ । नेपाल समूहले जनवर्गीय संगठनहरुको भेला गर्दै नेतृत्व चयन गरिरहेको छ ।
ओलीको कारवाही र नेपाल समूहले आज घोषणा गर्ने पुनर्गठन अभियानले एमालेलाई थप विभाजनमा पुर्याउने भन्दै केही नेता र कार्यकर्ताहरुले चिन्ता व्यक्त गरेका छन् ।