
काठमाडौँ । केही दिनदेखि काठमाडौं उपत्यकामा लागेको घातक तुवाँलो बुधबार केही कम भएको छ । बुधबार विहान काठमाडौंको आकाश केही मात्रामा खुलेको छ । भिजिबिलिटी बढेसँगै अन्तर्राष्ट्रिय र आन्तरिक उडान थपिएका छन् ।
मौसमविद् सिमर श्रेष्ठका अनुसार नेपालको वायुमण्डलमा आज केही सुधार देखिएको छ । यसले गर्दा काठमाण्डौ उपत्यकासहित केही ठाउँमा ‘भिजिबिलिटी’ बढेको हो ।
भिजिबिलिटी बढेसँगै हवाई उडान–अवतरणमा सहज हुनेछ । तर, वायुमण्डलमा आज केही सुधार देखिए पनि भोलि फेरि पुरानै अवस्थामा फर्किने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए ।
यसैबीच भारतको दिल्लीबाट धुलो मिसिएको हावा नेपाल प्रवेश गरेको मौसमविद् श्रेष्ठले बताए । यसको असर पश्चिमी र पूर्वी क्षेत्रमा देखिन थालिसकेको छ । भोलि फेरि देशभर तुवाँलो बढ्ने सम्भावना रहेको छ ।
मौसमविद् श्रेष्ठका अनुसार अहिले पूर्वमा इलाम र रौतहटसम्म नै तुवाँलो बढेको बताए । बिस्तारै यो तुवाँलो देशका अरु ठाउँमा पनि सर्दै जाने र यसको असर भोलि देखिने उनको भनाइ छ । भोलि फेरि वायुमण्डल स्थिर रहने अनुमान छ । जमिन भिज्ने गरी पानी परे वा हावा चले प्रदूषण हट्ने भए पनि आज, भोलि र पर्सि हावा चल्ने र पानी पर्ने सम्भावना नरहेको बताइएको छ ।
तल्लो वायुमण्डल र जमिनको सतह नजिक फेरि धुलोसहित प्रदूषण थुप्रिने सम्भावना तीन दिनसम्म रहेको मौसमविद्को अनुमान छ । तीन दिनपछि भने केही सुधार हुन सक्ने अनुमान गरिए पनि ढुक्क हुने अवस्था भने नरहने बताइएको छ ।
यसैबीच, आज प्रदेश १, वाग्मती र गण्डकी तथा लुम्बिनी प्रदेशका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना छ । दिउँसो पछि यी क्षेत्रमा मेघ गर्जनसहित चट्याङ पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।