
काठमाडौं । केही दिनदेखि काठमाडौंसहित देशभर फैलिएको धुँवा र तुवाँलो आज पनि हटेन । स्वास्थ्यमा गम्भीर असर पुर्याउने भन्दै विज्ञहरुले चेतावनी दिएपछि आजबाट शैक्षिक संस्था बन्द भएका छन् ।
सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो। बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको बताए ।
केहि दिनदेखि बढेको वायु प्रदूषणलाई मध्यनगर गर्दै शिक्षा मन्त्रालयले विदा दिने निर्णय गरेको छ। परीक्षा परेको बाहेक अन्य सबै शैक्षिकसत्र बन्द गर्ने सरकारले निर्णय गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वायु प्रदूषण निकै बढेको भन्दै घरभित्रै बस्न सबैलाई आग्रह गरेको छ। अचानक मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यकाभित्रको वायु प्रदूषण निकै बढेको भन्दै मन्त्रालयले यसले श्वासप्रश्वासमा कठिनाई लगायत विविध स्वास्थ्य समस्याहरू देखा पर्न सक्ने बताएको छ।
भारतबाट आएको धुलो र काठमाडौं वरिपरिका जंगलमा लागेको डढेलोका कारण काठमाडौंको वायु फेरि प्रदूषित बनेको छ। यस्तै, काठमाडौंको वायु प्रदूषित हुनुको मुख्य कारण वर्षा नहुनु पनि भएको मौसमविदहरुले बताएका छन्।
काठमाडौं र आसपासका क्षेत्रमा वर्षा हुन सक्ने अनुमान गरिए पनि पानी पर्न सकिरहेको छैन। शिक्षा मन्त्रालयको आपत्तकालिन बैठक बसेर आजबाट चारदिन देशभरका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।
मौसम खराबीका कारण प्रदूषणको तह बढेपछि स्वास्थ्यमा केही असर देखिन थालेका छन् । काठमाडौंका अस्पतालहरुमा बिरामी बढ्न थालेका छन् ।
यसैबीच तुवाँलो नफाटेका कारण हवाई उडान प्रभावित भएको छ । विमानस्थलका अनुसार गत शुक्रबारदेखि प्रभावित भएको आन्तरिक उडानमा २० प्रतिशतले कमी आएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ खासै प्रभाव नपरेको विमानस्थलले जनाएको छ ।
विमानस्थलका अनुसार शुक्रबार आन्तरिकतर्फ २ सय ४६ वटा उडान तथा अवतरण भएका थिए । तर, शनिबार १ सय २३ र आइतबार १ सय ३८ वटा र सोमबार १ सय मात्रै उडान–अवतरण भएका छन् ।