
काठमाडौं । नेकपा (एमाले)को माधव नेपाल समूहले केन्द्रीय सदस्यको बैठक बोलाएको छ । विहीबार स्पष्टीकरको जवाफ दिएको नेपाल समूहले आज केन्द्रीय समिति बैठक बोलाएको हो ।
नेपाल समूहका नेताका अनुसार आजको बैठकमा स्पष्टीकरणबारे जानकारी गराउने, ओलीले गर्न सक्ने सम्भावित कारवाहीको बारेमा पनि छलफल हुनेछ । स्पष्टीकरण चित्त नबुझे कारवाही गर्ने ओली समूहले यसअघि नै बताइसकेको थियो । स्पष्टीकरण नेपाल समूहका नेताहरुले उल्टै ओलीलाई कारवाही गर्नुपर्ने दाबी गरेका छन् ।
नेता माधव कुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषालले हिजो छुट्टा छुट्टै स्पष्टिकरण बुझाएका थिए । स्पष्टीकरणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिप्रश्नसहित जवाफ दिइएको छ ।
नेता नेपालले दिएको स्पष्टीकरणमा सर्वोच्च अदालतको फैसलाको आशय विपरित फागुन २८ गते केन्द्रीय समितिको वैठक राखेर अध्यक्ष ओलीले नै विधान मिचेको आरोप लगाइएको छ ।
त्यस्तै अध्यक्ष ओलीले जन भावना र संविधान विपरित प्रतिनिधिसभा भंग गरेपछि पार्टीप्रति जनविश्वास कायम राख्नका लागि ओली विरुद्ध अविश्वास प्रस्ताव अघि बढाउन खोजेको जिकीर पनि गरिएको छ । यस्तै अर्का नेता रावलले अध्यक्ष ओलीले देशको संविधान मात्रै नभई पार्टीको विधान समेत मिचेको आरोप लगाउनु भएको छ । रावलले १४ बूँदे स्पष्टिकरणमा अध्यक्ष ओलीमाथि प्रश्नहरु गर्नु भएको छ ।