
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय बैठक आज बस्दैछ । संसदीय दलको विधान संशोधन गरी दलका नेता केपी शर्मा ओलीलाई थप अधिकार दिएपछि पहिलो पटक बैठक बस्न लागेको हो ।
बैठकमा चालु अधिवेशनलाई कसरी प्रभावकारी बनाउने र सांसद्हरूको विकास बजेट खर्चको सन्दर्भमा छलफल हुने जनाइएको छ । तर ओली निकट एक नेताले भने नेता माधव कुमार नेपालतिर लागेका सांसदहरुमाथि कारवाहीको विषयले पनि प्रवेश पाउने बताए ।
सर्वोच्च अदालतले एमाले ब्युँझाएपछि नेपाल समूहले समानान्तर गतिविधि गर्दै आएको छ । अहिलेसम्म कुनै पनि बैठकमा नेपाल समूहति लागेका सांसदहरु सहभागी भएका छैनन् । आजको बैठकमा पनि सहभागी नहुने एक सांसदले बताए ।
संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले चुनाव चिन्ह लिएर सांसद् बनेका सबैलाई बैठकमा बोलाएको बताए । ओलीले केन्द्रीय समिति र संसदीय दलमा एकलौटी निर्णय गरेको भन्दै त्यो नसच्याएसम्म सहभागी नहुने नेपाल समूहले बताउँदै आएको छ ।
यसैबीच नेपाल समूहका नेताहरुले विहीबार स्पष्टीकरण दिएका छन् । स्पष्टीकरणमा आफूहरुले नभएर अध्यक्ष ओलीले पार्टी विभाजन गर्ने गतिविधि गरेको भन्दै कारवाहीको भागीदार हुनुपर्ने दाबी गरेका छन् । अध्यक्ष ओलीले पार्टी गतिविधि विरोध कार्य नरोकेसम्म आफूहरु सँगै बस्न नसक्ने स्पष्टीकरणमा उल्लेख छ ।