
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सरकारलाई दिएको समर्थन फिर्ता लिने तयार गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउने वैकल्पिक सरकार बनाउन सक्ने अवस्था तत्लका नदेखिएपनि माओवादी केन्द्रले समर्थन फिर्ता लिन तयारी गरेको हो ।
संसद् पुन:स्थापनापछि नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग गरेको छलफल समिकरणमा पुग्न सकेको छैन । सरकारविरुद्ध लागेपनि समर्थन फिर्ता नलिएको भन्दै आलोचना बढेको छ । माओवादी केन्द्रको मंगलबारको स्थायी कमिटी बैठकमा समेत समर्थन फिर्ताका विषयमा सामान्य छलफल भएको थियो । त्यसलाई निर्णयमा पुर्याउन नेताहरुले तयारी गरेका छन् ।
माओवादी केन्द्रका एकथरी नेताहरुले ओलीलाई दिएको समर्थन फिर्ता लिँदा फेरि संसद् विघटनतिर जान सक्ने भन्दै हतार गर्न नहुने बताइरहेका छन् । राष्ट्रपतिले आह्वान गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर चुनावमा जाने संकेत गरेको भन्दै स्थायी समिति सदस्य वर्षमान पुनले बैठकमा समर्थन फिर्ता लिन हतार गर्न नहुने दाबी गरे ।
प्रधानमन्त्री ओलीविरुद्ध समिकरणमा जसपा आउन तयार नभएपछि नेपाली काँग्रेस पनि पछि हटेको छ । जसपा ओली सरकारमै जाने तयारी गरेको छ । सरकारको विषयलाई लिएर जसपामा दुई धार देखिएका छन् । अध्यक्ष महन्थ ठाकुर,राजेन्द्र महतोलगायतका नेताहरु ओली सरकारमै जानु पर्ने बताइरहेका छन् भने उपेन्द्र यादव, बाबुराम भट्टराईलगायतका नेताहरु ओलीलाई सरकारबाट हटाएर अर्को सरकार बनाउनु पर्ने बताउँदै आएका छन् ।
प्रधानमन्त्री ओली र उनी निकट नेताहरुले सर्मथन फिर्ता लिन चुनौती दिँदै आएका छन् ।