
काठमाडौं । भारतले कोरोना खोप निर्यातलाई रोकेको छ । भारतले अक्सफर्ड-आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि अस्थायी रोक लगाएको हो । उसले कोरोना संक्रमण बढेको र आफैले प्रयोग गर्ने भन्दै कोरोना खोप रोकेको हो ।
यसले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्नसक्ने सम्भावना रहेको बताइएको छ। विश्व स्वास्थ्य संगठनको नेतृत्वमा रहेको यो योजनाले सबै देशहरूमा खोप निष्पक्षरूपमा बाँडियोस् भन्ने उद्देश्य राखेको छ।
भारतको सबैभन्दा ठूलो खोप निर्माता सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआइ)ले थुप्रै देशमा आस्ट्राजेनेका खोप पठाउने काममा ढिलाइ गरेको छ। हालैका दिनमा त्यसको मारमा यूके र ब्राजिल परेका छन्।
भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोड भन्दा बढी खोप निर्यात गरिसकेको छ र त्यसमा धेरै अक्सफर्ड-आस्ट्राजेनेकाकै खोप परेको छ।
भारतभित्रै कोरोनाभाइरसका बिरामीहरू तीव्र रूपमा बढिरहेका बेला भारतले यो निर्णय गरेको भारतीय संचारमाध्यमहरुले सरकारी अधिकारीलाई उदृत गर्दै समाचार सम्प्रेशण गरेका छन् ।
भारतमा बुधबार मात्रै ४७ हजार भन्दा बढी नयाँ सङ्क्रमित भेटिएका छन् भने २७५ जनाको ज्यान गएको छ । भारतले अप्रिल १ तारिखबाट ४५ वर्षमाथिकालाई खोप कार्यक्रम सुरु गर्न लागेकाले पनि अधिकारीहरूले माग बढ्ने ठानेका छन्।
भारतले अस्थायी रुपमा कोरोना खोप निर्यात रोकेको बताइएको छ ।
एसआइआइ – विश्वको सबैभन्दा ठूलो खोप निर्माता कम्पनी – ले यसअघि नै आस्ट्राजेनेका खोप पठाउने काम ब्राजिल, युके, साउदी अरेबिया र मोरोक्कोमा ढिला गरिसकेको छ।