
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली समूहले नेता माधव कुमार नेपालतिर लागेका सांसदहरुमाथि कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । थप अधिकार पाएका ओलीले नेपाल समूहतिर लागेका १२ जना समानुपातिक सांसदहरुमाथि कारवाहीको लागि छलफल सुरु गरेका छन् ।
सर्वोच्च अदालतले एमाले ब्यँुझाएको पछि अलग अलग अभ्यास गरिरहेका ओली र नेपाल समूहबीचको दुरी बढ्दै गएको छ । एक अर्काले एक अर्काप्रति सार्वजनिक आरोपमा उत्रिएका छन् । नेपाल समूहले छुटै पार्टीको अभ्यास गर्न थालेपछि ओलीले पार्टी र संसदीय दलका थप अधिकार लिएका थिए ।
नयाँ संशोधित विधानअनुसार अब ओलीले समानुपातिक सांसदहरुलाई हटाउन र थप्न सक्ने भएका छन् । संघीय र प्रदेशसभाका समानुपातिक सांसदहरुलाई हटाएर बन्दसूचीबाट अरुलाई नियुक्त गर्न सक्ने भएका छन् । यो अधिकार नेपाल समूहलाई लक्षित गरेर ओलीले लिएका हुन् ।
एमालेका ४१ समानुपातिक सांसदमध्ये नेपाल समूहतिर रामकुमार झाँक्रीसहित १२ जना उभिएको बताइएको छ । (नेकपा) हुँदै पूर्वएमाले दुई कित्तामा उभिएका थिए । त्यतिबेला प्रचण्ड–नेपाल समूहतिर पूर्वएमालेका प्रतिनिधिसभामा ३८ जना थिए । तर, एमाले ब्युँतिएपछि कृष्णभक्त पोखरेल, गोपाल बम र माया ज्ञवाली ओलीतिर लागिसकेका छन् ।
ओलीले कारवाहीको तयारी थालेपछि थप समानुपातिक सांसदहरु पनि ओलीतिर फर्किने तयारीमा रहेको बताइएको छ । नेपाल समूहमा २३ जना प्रत्यक्ष निर्वाचित सांसदहरू छन् । उनीहरुलाई पहिलो चरणमा ओलीले कारवाही नगर्ने बताइएको छ । तर, समानान्तर गतिविधि बढ्दै गएमा उनीहरुमाथि पनि कारवाहीको डण्डा लाग्न सक्ने नेपाल समूहके नेताहरु बताउँछन् । चुनाव लडेको पार्टीले पार्टीबाट हटेको जानकारीसहित कारवाही गर्न सक्ने व्यवस्था छ । तर, समानुपातिक जति सजिलो भने छैन ।
यसअघि ओली समूहको केन्द्रीय समिति बैठकले राष्ट्रिय भेला गरेर अनुशासन उलंघन गरेको भन्दै माधव नेपालसहित चारजना नेतासँग स्पष्टीकरण माग्ने निर्णय गरिसकेको छ । ओलीले नेपालसँगै नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेका थिए । तर, अहिलेसम्म नेपाल समूहका नेताहरुले स्पष्टीकरण दिने कुनै तयारी गरेका छैनन् ।
माधव नेपाल पक्षका समानुपातिक सांसद
१. रामकुमारी झाँक्री, गुल्मी २. बिनादेवी बुढाथोकी मगर, कञ्चनपुर ३. मुकुन्द न्यौपाने, काठमाडौं ४. कल्याणीकुमारी खड्का, रौतहट ५. लक्ष्मीकुमारी चौधरी, कैलाली ६. गंगा चौधरी सत्गौवा, दाङ ७. निरादेवी जैरु, डडेलधुरा ८. पार्वती कुमारी विसुङ्खे, दैलेख ९. पुष्पाकुमारी कर्ण यादव, पर्सा १०. सरलाकुमारी यादव, रौतहट ११. कालिला खान, तनहुँ १२. समिना हुसेन, रौतहट
२०७४ सालमा एमालेका निर्वाचित ८० जना प्रत्यक्ष निर्वाचित सांसदमध्ये नेपाल समूहमा रहेका शेरवहादुर तामाङ, कृष्णभक्त पोखरेल, लालबाबु पण्डित र गोपाल बम ओलीतिर लागिसकेका छन् ।
अहिले नेपालसमूहमा रहेका प्रत्यक्ष निर्वाचित सांसदहरुः
१. योगेश भट्टराई, ताप्लेजुङ १. झलनाथ खनाल, इलाम -१ ३. पवित्रा निरौला खरेल, झापा-२ ४. जयकुमार राई,सुनसरी – १ ५. भवानी खापुङ,तेह्रथुम ६. यज्ञराज सुनुवार, ओखलढुंगा ७. गणेश पहाडी, सिन्धुली-१ ८. माधवकुमार नेपाल, काठमाडौं-२ ९. जीवनराम श्रेष्ठ,काठमाडौं-८ १०.नारायण खतिवडा, नुवाकोट- १ ११. विरोध खतिवडा,मकवानपुर- २ १२. सुरेन्द्र पाण्डे,चितवन- १ १३. घनश्याम भुसाल,रुपन्देही- ३ १४. गोकर्ण विष्ट,गुल्मी- १ १५. मेटमणी चौधरी, दाङ- १ १६. हिराचन्द्र केसी, दाङ- ३ १७. ध्रुव शाही, सुर्खेत- १ १८. राजवहादुर बुढा, दैलेख- २ १९. झपट रावल, कैलाली- २ २० . भीम रावल, अछाम -१ २१ . कृष्णलाल महर्जन, ललितपुर- २ २२ . सोमप्रसाद पाण्डे, पाल्पा- २ २३ . दिपकप्रकाश भट्ट,कञ्चनपुर- ३