
काठमाडौँ । एक बक्ताहरुले संसदीय व्यवस्था असफल हुनु सिंगो प्रणालीको असफलता भएको बताएका छन् । उनीहरुले नेपालमा संसदीय व्यवस्था असफल भइसकेको दाबी गर्दै त्यसको विकल्पमा नयाँ व्यवस्था स्थापनाको एकजुट हुनु पर्ने धारणा राखेका छन् ।
काठमाडौँमा आइतबार राष्ट्रिय जागरण मञ्च नेपालको आयोजनामा भएको ‘संसदीय व्यवस्थाको असफलता र अबको विकल्प’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले सो धारणा राखेका हुन् । उनीहरुले असफल संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद रहेकोमा जोड दिएका थिए ।
नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले संसदीय व्यवस्था असफल हुनु सिङ्गो प्रणालीकै असफलता भएको बताउँदै त्यस व्यवस्थाका पक्षधर पार्टी र नेतृत्वको असफलता भएको बताए । उनल सरकार र संसदमा रहेका नेताहरु असफल भइसकेको भन्दै आफूहरुले सरकारको पनि विकल्प दिने बताए ।
चार दलीय संयुक्त रणनैतिक मोर्चाका संयोजक समेत रहेका गजुरेलले व्यवस्थाको पनि विकल्प दिन मोर्चामार्फत नयाँ संयुक्त सरकारको विकल्प पनि दिएको बताए । उनले व्यवस्थाको विकल्प पनि नौलो जनवादी व्यवस्था हुँदै वैज्ञानिक समाजवादको लागि बृहत् सडक आन्दोलन आवश्यक रहेको बताए ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा वार्ता टोली सदस्य उदयबहादुर चलाउने ‘दीपक’ ले संसदीय व्यवस्थाको असफलता भइसकेकाले अबको विकल्प वैज्ञानिक समाजवादी व्यवस्था रहेको बताए । उनले यो सरकारको विकल्पमा बन्ने संयुक्त सरकारमा आफ्नो पार्टी पनि सहभागी हुने बताए ।
‘अबको समाधान मध्यावधि निर्वाचन, संसदीय व्यवस्था र पुँजीवादी व्यवस्था पनि होइन । यसको विकल्प वैज्ञानिक समाजवादी व्यवस्था हो । त्यसकारण वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि जग बसोस् भनेर हामीले प्रगतिशील संयुक्त सरकार हुनुपर्छ भनेका छौँ’ दीपकले भने । उनले कम्युनिस्ट पार्टी र बाहिर रहेका दल तथा विज्ञहरूसँग पनि छलफल गर्नुपर्छ भन्ने नेकपाको कार्यनीति रहेको बताए ।
जनअधिकार अभियान नेपालका संयोजक वरिष्ठ अधिवक्ता एकराज भण्डारीले संसदीय व्यवस्था असफल भइसकेकाले यसलाई जति टालटुल गरे पनि सुधार हुन नसक्ने बताए । भण्डारीले संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवादी व्यवस्था हो भन्ने शक्तिहरूले ढिला नगरी बहसमा उत्रिनुपर्ने र व्यवहारमा लागू गर्नुपर्ने उनले बताए ।
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक विश्वभक्त दुलालले संसदीय व्यवस्था पुँजीवादी प्रणालीको अङ्ग भएकाले पुँजीवादविरुद्ध व्यापक बहस र छलफल आवश्यक रहेको बताए । समाजवादको बाटो निर्माणका लागि पाको पुस्ताले संयोजन गर्नुपर्ने उनको जोड थियो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य राम कार्कीले नेपालमा अब कस्तो व्यवस्था स्थापना गर्नुपर्छ भन्ने विषयमा छलफल आवश्यक भइसकेको बताए ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अर्जुन कार्कीले अब संसदीय व्यवस्थातर्फ नभई नयाँ व्यवस्थातर्फ यात्रा आरम्भ गर्नुपर्ने धारणा व्यक्त गरे । नयाँ व्यवस्था स्थापना गर्नकै लागि ४ दलीय संयुक्त मोर्चा बनेको स्मरण गराउँदै उनले अब सबै परिवर्तनकारी शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताए ।
अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्दले संसदीय व्यवस्था पूरै असफल भइसकेकाले अब सामान्य नीति, धारा, उपधारा फेरिएर नहुने धारणा राखिन् । उनले अबको विकल्प जनतालाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र अधिकारको सुनिश्चितता गर्ने वैज्ञानिक समाजवादी व्यवस्था भएको बताइन् ।
कार्यक्रम मञ्चका संयोजक गुणराज लोहनीको अध्यक्षतामा र संचालन मञ्चका सचिव नरबहादुर कार्कीले गरेका थिए । कार्यक्रममा संयोजक लोहनीले अवधारणपत्र समेत पेश गरेका थिए ।