
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेड (SHEL) को प्राथमिक सेयर (आइपिओ) बिक्री खुल्ला भएको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २९ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो।
त्यसमध्ये ५ प्रतिशत अर्थात् १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुले आवेदन दिन सक्नेछन्।
इच्छुक आवेदकले कम्तीमा १० र बढीमा २ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यस आईपीओमा लगानीकर्ताले चैत १० गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा चैत २० गतेसम्म म्याद थप हुनेछ।
मेरो सेयर र आफ्नो खाता रहेको आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाको जुनसुकै शाखाबाट आवेदन दिन सकिनेछ। सेयर बिक्री प्रवन्धकका रुपमा मेगा क्यापिटल रहेको छ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको जनाउँदछ।