
काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । सर्वोच्च अदालतले पुनःस्थापन गरेपछि नियमित कार्यसूचीमा प्रवेश गर्न नपाएको संसद बैठक आज पुनः बस्न लागेको हो ।
संसद् बैठकको पहिलो दिनमै सरकारले विभिन्न अध्यादेश पेस गरेपछि विपक्षी सांसदहरुले अवरुद्ध गर्दै आएका छन् । पहिलो बैठक नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव कुमार नेपाल समूहले बहिस्कार गरेको थियो । सरकारले अध्यदेश पेस गर्न खोजेपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले नाराबाजी गरेपछि सभामुख अग्नी सापकोटाले स्थगित गरेका थिए ।
दोस्रो पटक बसेको संसद बैठकले शोक प्रस्ताव पारित गरेर थियो । शोक प्रस्ताव पारित गरेपछि सभामुख सापकोटाले चैत्र ६ गते अर्थात आजसम्मलाई स्थगित गरेका थिए ।
आजको बैठक पनि नियमित कार्यसूचीमै प्रवेश गर्न नपाउने अवस्था देखिएको छ । संसद् नियमित गर्नेबारे नेताहरुबीच कुनै सहमति नभएकोले आजको बैठकमा नाराबाजी हुने बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरेका थिए । तर सर्वोच्च अदालतले त्यसलाई गैरसंवैधानिक कदम भन्दै उल्टाइदिएको थियो । सर्वोच्च अदालतले १३ दिनभित्र संसद् बैठक बोलाउन समेत सरकारलाई आदेश दिएको थियो ।
सरकारले सिफारिसमा फागुन २३ गते संसद्को पहिलो बैठक बसेको थियो । संसद् बैठक बोलाएपनि काम नदिएको भन्दै विपक्षी सांसदहरुले सरकारको आलोचना गरेका छन् ।