
सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाको आयोजना र काठमाडौंको हिमाल डेण्टल हस्पिटल एण्ड इन्स्टीच्यूट अफ डेण्टल साईन्सको सहयोगमा सम्पन्न भएको तीन दिने दन्त शिविरमा ३ सय १जना स्थानियवासीले सेवा प्राप्त गरेका छन् । गाउँपालिका अध्यक्ष भूपेन्द्र श्रेष्ठले ५ नम्बर वाड स्थित थौथली स्वास्थ्य चौकिमा ३ गते शिविरको समुद्घाटन गर्दै आफूहरु जनताका हरेक सुख र दुःखमा साथ दिन तयार भएको र सो क्षेत्रमा अन्य स्वास्थ्य सेवा जस्तै दन्त सेवा पनि आवश्यक भएकोले शिविर चलाएको र भविष्यमा पनि आवश्यकता अनुसार यस्ता शिविर चलाउने प्रतिवद्धता जनाए ।
हिमाल डेण्टलका अध्यक्ष तथा प्रबन्ध निर्देशक राजेन्द्र भट्टले सो शिविर बारे जानकारी दिँदै आफूहरु पूर्व मेचीदेखि पश्चिम महाकाली, हिमालदेखि तराईसम्मका नेपाल जनतालाई दाँत सम्बन्धी जनचेताना र सकेजति दन्त शिविर मार्फत सेवा दिने प्रयास गरेको बताए । सरकारले सबै तिर जनतालाई सेवा दिन नभ्याउने भएकाले आफूहरु स्थानिय सरकार तथा सम्बन्धित निकायहरुसँग सहकार्य गरेर गाउँगाउँ, टोलटोलमा पुगेर जनताको सेवा गर्न तत्पर रहेको बताउँदै भने, “न त हामी भूकम्पको विपत्तिमा रोकियौं, न त कोरोना महामारीमा अड्कियौं निरन्तर जनताको सेवाका लागि अहोरात्र हाम्रो टिम खटिएको छ, सायद त्यसैले होला देशमा जता गए पनि हिमाल डेण्टललाई सबैले माया गर्छन्, अनि हाम्रो दुःख र सुखमा पनि साथ दिन्छन्, त्यसको निरन्तरताको लागि तौथलीमा पनि सबैप्रति आभार ब्यक्त गर्छु ।”
३ गते मंगलबार सुरु भएर बिहिबार सम्पन्न भएको सो शिविरमा दाँत निकाल्ने, दाँत बनाउने, एक्सरे सेवा, दाँत भर्ने, मुख स्वास्थ्य सम्बन्धी परामर्श, गिँजा सम्बन्धी उपचार तथा दाँत सम्बन्धी जनचेतना मुलक कार्यहरु भएको हिमाल डेण्टलकी क्याप(शिविर) संयोजक कमला कार्कीले बताइन् । समाज सेवी तथा त्रिपुरासन्दरी सामुदायीक अध्ययन केन्द्रका अध्यक्ष हिरालाल श्रेष्ठले मानिसहरुले जतिसुकै उन्नति र प्रगति गरेर गाउँघर भन्दा टाढा गएपनि आफ्नो जन्मथलोप्रतिको मायाले केही न केही गर्नुपर्छ भन्ने सोचले सो शिविर ल्याउन पहल गरेको बताए । विगतदेखि आजसम्म सो ठाउँलाई राम्रो बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा रहेको धारणा राखे ।
त्रिपुरासुन्दरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चन्द्र नारायण शाहले आफ्नो स्थायी निवास सप्तरी भएपनि हालको कार्य क्षेत्र र समाज जन्मथलो भन्दा बढी प्यारो लाग्ने बताउँदै, सो ठाउँमा सक्ने जति सामाजिक कार्यमा लागि रहने प्रतिबद्धता जनाए । हिमाल डेण्टलले विशेषज्ञ दन्त चिकित्सक, डेण्टल हाईजेनिक्स, डेण्टल सर्जन, डेण्टल टेक्निसियन र नर्स गरेर १४ जना कर्मचारी र सम्पूर्ण डेण्टल इक्वीपपेन्ट(सामग्रीहरु) उपलब्ध गरेको आयोजकले बताएको छ । ६ ओटा वडाहरु रहेको सो गाउँपालिकाका पिस्कर,टेकानपुर,धुस्कुन, तौथली तथा लिसंखुपाखर गाउँपालिकाको वाड नम्बर ४ जेठल लगायतका ठाउँका बिरामीहरुले उपचार तथा जनचेतनामुलक परामर्शमा सहभागी विद्यार्थीहरु गरेर ४ साय बढीले सेवा प्राप्त गरेका छन् । शिविर सञ्चालन भएको समय अवधीभरी गाउँपालिका उपाध्यक्ष दुर्गादेवी नेपाल, तौथली वडाध्यक्ष विष्णु भक्त श्रेष्ठ, तौथली स्वास्थ्य चौकी प्रमुख गंगा राईले महत्वपूर्ण भूमिका खेलेको र महिला स्वयमसेवीकाहरुले प्रचार प्रसारमा सहयोग गरेकोमा आयोजकले धन्यवाद दिएको थियो ।