
काठमाडौं । नेकपा (एमाले)का संसदीय दलको बैठकले नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूहको भेलामा जानेलाई कारवाही गर्ने निर्णय गरेको छ ।
विहीबार बालुवाटारमा बसेको संसदीय दलको बैठकले नेपाल–खनाल समूहको नामै नलिएर गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्न सांसदहरुलाई निर्देशन दिएको छ ।
ओली समूहको बालुवाटारमा बसेको बैठकले पार्टी बाहेक अरुले बोलाउने भेलामा नजान सांसदहरुलाई निर्देशन दिँदै गए कारवाहीको प्रक्रिया अगाडि बढाउने समेत चेतावनी दिएको छ ।
ओली समूहको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार गुट भेलामा जानेहरुलाई आत्मलोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन सांसदहरुलाई बैठकले आह्वान समेत गरेको छ ।
ओली समूहले पार्टी निर्णय नमानेमा विधान अनुसार, स्पष्टिकरण र कार्बाहीको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको सहभागी एक नेताले बताए ।
बैठकले संसदीय दलको बोर्ड गठन र विधान संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । अधिकांश ओली समूहका सांसदहरु रहेको बोर्डमा नेता नेपाल र खनाललाई पनि राखिएको छ ।
यसैबीच नेपाल समूहतिर लागेका सांसदहरु बालुवाटार बैठकमा सहभागी भएनन् । सानेपास्थित .भेलाबाट बैठकमा जान जागेको सांसहरुलाई समेत फिर्ता गरिएको बताइएको छ ।
नेता नेपाल र खनालले सुरुमा सासदहरुलाई बालुटारमा बैठकमा सहभागी हुने भनिएपनि अन्तिममा आएर फर्ता फर्र्किएका थिए ।