
काठमाडौँ । नेकपा (एमाले)को संसदीय दलको बैठक प्रधानमन्त्री कार्यालय बालुवाटारमा बस्दैछ । दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले विहान ११ बजे संसदीय दलको बैठक बोलाएका थिए ।
बैठकमा सूर्य चिह्नबाट चुनाव जितेका सबै सांसदहरुलाई बैठकमा बोलाइएको ओली समूहका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् । बैठकमा सहभागी हुन भन्दै हिजै सबै सांसहरुलाई खबर गरिसकिएको उनले बताए ।
राष्ट्रिय भेलामा रहेको नेता माधव कुमार नेपाल समूह भने बैठकमा सहभागी नहुने भएको छ । सो समूहका नेता योगेश भट्टराईले भेला जारी रहेको र ओली समूहले एकलौटीरुपमा बैठक बोलाएकोलेस हभागी हुन नसक्ने बताउँछन् ।
नेपाल समूहले राष्ट्रिय भेला बुधबारबाट ललितपुरमा सुरु भएको थियो । भेलाको पहिलो दिन वरिष्ठ नेता माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रस्तावमाथि छलफल जारी रहेको छ । नेपाल समूहले भेला रोक्न नमानेपछि ओलीले हतारमा संसदीय दलको बैठक बोलाएका थिए ।
यसअघि ओलीले यही ७ गते केन्द्रीय समिति बैठक समेत बोलाएका छन् । उक्त बैठक ओली समूहको भएकाले नजाने नेपाल समूहले बताइसकेको छ ।
यसैबीच बैठकमा सहभागी नहुनेहरुमाथि कारवाहीको प्रक्रिया अगाडि बढाउने ओली समूहका नेताहरुले चेतावनी दिएका छन् ।