काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकी नेतृ उमा भुजेलको घरमा प्रहरीले प क्राउ पुर्जी टाँसेको छ । सरकार र नेकपाबीच तीन बुँदे सहमति भएर प्रतिबन्ध फुकुवा र मुद्धा फिर्ता लिने सहमति भइसक्दा पनि प्रहरीले पक्राउ पुर्जी टाँसिरहेको छ ।
केही दिन पहिले अछाममा युवा नेता हरिबहादुर चन्दको घरमा पक्राउ पुर्जी टाँसेको थियो । जेल र हिरासतमा भएका नेकपाको नेता कार्यकर्ता रिहाई गर्ने सहमति भइसक्दा पनि प्रहरीले अदालतले पुरानो मितिमा जारी गरेका पक्राउ पुर्जी टाँसिरहेको छ ।
नेतृ भुजेलको गोरखा भच्चेक काफलडाँडास्थित घरमा सोमबार विहान ८ बजे प्रहरीको टोलीले पक्राउ पुर्जी टाँसेको हो । परिवारका अनुसार जिल्ला अदालत मोरङबाट जारी कर्तब्य ज्यान मुद्दाको उक्त पुर्जी भच्चेक प्रहरी चौकीका इन्चार्ज सईको नेतृत्वमा गएको प्रहरी टोलीले टाँसेको थियो ।
जनयुद्धको क्रममा भएको गोर्खा जेल ब्रेककी कमाण्डर समेत रहेकी नेतृ भुजेललाई अदालतले रिहाई गर्न आदेश दिँदा पनि पटकपटक प्रहरीले पुनः गिफ्तार गरेर अर्को जिल्ला पुर्याइरहेको थियो । सर्वोच्च अदालतको आदेशमा रिहाई भएकी भुजेलको घरमा पुनः पुर्जी टाँसिएपछि परिवार चिन्तित भएका छन् ।
सरकारसँग भएको सहमतिअनुसार नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक गतिविधि शान्तिपूर्णरुपमा संचलान गरिसकेको छ । पार्टीका महासचिव विप्लव खुला भएर पार्टीका भेला सम्मेलन, बैठकमा सहभागी हुन थालिसकेका छन् । तर, प्रहरीले नेकपाका नेता कार्यकर्ताको घरमा पक्राउ पुर्जी टाँस्न थालेपछि सहमति कार्यान्वन हुनेमा परिवारले शंका व्यक्त गरेका छन् ।