
काठमाडौं । आज प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसद सचिवायका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा संविधानसभा सदस्यको निधनमा शोक प्रस्ताव पारित र बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ ।
सर्वोच्च अदालतले पुनःस्थापना गरेपछि संसद् बैठक नियमित चल्न सकेको छैन । फागुन २३ र २६ गते बसेको बैठकमा संसदमा कुनैपनि एजेन्डामा छलफल हुन सकेन ।
सरकारले संसद् बैठकमा अध्यादेश पेश गर्न थालेपछि विवाद सुरु भएको थियो । माओवादी केन्द्र र माधव कुमार नेपाल समूहले संसद बैठक बहिस्कार गरेको थियो भने नेपाली काँग्रेसले र जनता समाजवादीले नाराबाजी गरेर अवरुद्ध पारेको थियो ।
संसद् बैठक अगाडि बढाउनेबारे सभामुख अग्नी सापकोटाले सोमबार बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा अध्यादेशबारे कुनै सहमित जुट्न सकेन ।
दलहरुबीच सहमति नजुटेका कारण अध्यादेश के गर्ने भन्नेबारे अन्योलता कायमै छ । पहिलो संसद् बैठकमा सरकारले ल्याएका अध्यादेश पेश गर्नु पर्ने कानुनी व्यवस्था छ । तर दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई छलेर अध्यादेशबाट चलाउन खोजेको भन्दै विरोध गर्दै आएका छन् ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् । दिउँसो ४ बजे राष्ट्रपति सितल निवासमा बोलाइएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने पार्टी सहभागी हुने बताइएको छ । राजनीतिक पार्टीबीच तीब्र रुपमा उतारचढाव भइरहेको बेला भण्डारीले सर्वदलीय बैठक आह्वान गरेकी हुन् ।
बैठकमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, राष्ट्रिय जनमोर्चा सहभागी हुने बताइएको छ ।