
काठमाडौं । नेकपा (एमाले) अनौपचारिक रुपमा विभाजन भएको छ । केन्द्रदेखि प्रदेश हुँदै जिल्लासम्मै एमालेका दुई कमिटी भएका छन् । शुक्रबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव नेपाल र झलनाथ खनाल समूहलाई जानकारी नै नदिएर केन्द्रीय समिती बैठक बसाले ।
बैठकल अध्यक्ष र महासचिवबाहेकका सबै पदहरु खारेज गर्दै प्रदेश इन्चार्ज समेत तोकेको थियो । ओली समूहले देशभर आफू पक्षीय नेताहरुलाई जिम्मेवारी मात्रे दियो । नेपाल समूहतिर लागेका नेताहरुलाई प्रदेश इन्चार्जबाट हटाएको समेत थियो ।
पूर्वमाओवादी कित्तााबाट ओलीतिर लागेको गृहमन्त्री रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय समितिमा नियुक्त समेत गरेका थिए । त्यसलाई विधान विपरित भन्दै प्रतिवाद गर्ने निर्णय गरेको नेपाल समूहको शनिबार बसेको स्थायी समिति बैठकले सात वटै प्रदेशका इन्चार्ज समेत तोकेको छ ।
नेपाल समूहले प्रदेश १ को इन्चार्जको जिम्मेवारी भीम आचार्य र प्रदेश २ को इन्चार्ज घनश्याम भुसाल बनेका छन् । त्यस्तै, बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य तोकेका छन् । यसअघि पनि उनी नै इन्चार्ज छन् । शाक्यलाई महिला विभागकोसमेत जिम्मेवारी दिइएको छ ।
त्यसैगरी गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी सुरेन्द्र पाण्डेले पाएका छन् भने लुम्बिनी र कर्णाली प्रदेशको जिम्मेवारी युवराज ज्ञवालीलाई दिइएको छ । सुदूरपश्चिम प्रदेशको इन्चार्ज भीम रावललाई तोकेको छ ।
बैठकले रघुजी पन्तलाई युवा इन्चार्ज, गोकर्ण विष्टलाई विद्यार्थी इन्चार्जको जिम्मेवारी दिइएको छ । ओली समूहले नेपाल समूहका सुदूरपश्चिम प्रदेशको इन्चार्जबाट उपाध्यक्ष भीम रावललाई हटाएको थिय । त्यस्तै प्रदेश नम्बर १ र बागमतिबाट भीम आचार्य र अष्टलक्ष्मी शाक्यलाई पनि हटाएको थियो ।
यसैबीच थप निर्णय लिन नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । शनिबार बसेको बैठकले चैत ४ र ५ गतेको राष्ट्रिय भेला बोलाएको छ । प्रदेश र विभाग इन्चार्जको जिम्मेवारी भेलासम्मको लागि मात्रै तोकिएको एक नेताले बताए । नेपाल समूहको भेलासँगै एमालेको विभाजनले औपचारिकता पाउने समेत नेताहरुले बताएका छन् ।