
काठमाडौं । सर्वोच्च अदालतको आदेशमा ब्यूँतिएको नेकपा एमाले विभाजनको डिलमा पुगेको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली समूहले केन्द्रीय समिति बैठकले मनपरी निर्णय गरेको भन्दै नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले त्यसको प्रतिवाद गर्ने निर्णय गरेको छ ।
ओलीले केन्द्रमा अध्यक्ष र महासचिव बाहेका सबै पदहरु खारेज गर्नुको साथै प्रदेश र जिल्लामा आफ्नै समूहका नेताहरुलाई जिम्मेवारी दिएका छन् । नेपाल समूहका नेताहरुलाई जिम्मेवारीबाट हटाएका छन् ।
ओली समूहको यो निर्णय सार्वजनिक भएसँगै शुक्रबार नै नेपाल समूहको स्थायी समिति बैठक बसेर त्यसलाई नमान्ने निर्णय गर्दै चैत ४ गते राष्ट्रिय भेला बोलाएको छ । ओलीको निर्णय विधान विपरित भएको भन्दै नेपाली समूहले आपत्ति जनाएको छ ।
नेपाल समूहका नेता वेदुराम भुसालले ओली समूहको निर्णयले पार्टी विभाजन गर्ने बताए । उनले भेलापछि ७७ जिल्ला र सात वटै जिल्लामा समानान्तर कमिटी बनाउने बैठकले निष्कर्ष निकालेको जानकारी दिए । उनले भेलाले पार्टी पुनर्संरचनाको अभियान अगाडि बढाउने समेत बताए ।
ओली समूहले (नेकपा) हुँदा प्रचण्ड समूहतिर लागेका पूर्व एमाले नेताहरु कसैलाई पनि जिम्मेवारी दिएका छैनन् । ओली समूहले मंसिरमा पार्टीको महाधिवेशन गर्ने समेत निर्णय गरेको छ ।
एमाले उपाध्यक्ष भीम रावलले आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको जानकारी दिए । उनले अध्यक्ष ओलीले पार्टीको विधान विपरित स्वेच्छाचारी र मनपरी किसिमले निर्णय गरेकाले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने कदमविरुद्ध सबैलाई एकताबद्ध गरेर पार्टीको रक्षाका लागि अग्रसर हुने बताए ।
ओलीले अलोकतान्त्रिक र कम्युनिष्ट एकता विरोधी भएको र नेकपा एमाले फुटाएर कम्युनिष्ट आन्दोलनलाई सकाउने उद्देश्यसहित कदम चालको नेपाल समूहको निष्कर्ष छ ।
उता वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले पनि छुट्टै पार्टी बनाउने योजना बनाएको बताइएको छ । एमाले ब्युँतिएपछि ओलीसँग छलफलमा रहेका गौतम उपाध्यक्ष पद खारेज भएसँगै आक्रोसित भएका छन् । यी सबैलाई हेर्दा पूरानो एमाले छिन्नभिन्न हुँदैछ । तीनै समूह नयाँ शिराबाट अगाडि बढ्न खोजिरहेका छन् ।