
काठमाडौं । आज ८ मार्च । विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ । यो पटक नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, सम्मृद्ध नेपालको आधार’ नारासहित १११ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउँन लागिएको हो ।
लैंगिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चिततामा जोड दिएर कार्यक्रम गर्न लागिएको हो । नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ ।
राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नुका साथै सम्पति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकको व्यवस्था गरिएको छ ।
सङ्घ, प्रदेश र पालिकामा प्रतिनिधित्वसहित राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्दै गएको छ । महिला हिंसा तथा उत्पीडन अन्त्यका लागि विभिन्न कानुन बनेका छन् । तर महिला हिंसाका घटनामा कमी आउन सकेको छैन ।
सरकारले महिलामाथि हुने हिंसा तथा उत्पीडनलाई अन्त्य गर्न तथा पीडकलाई कडा सजाय गर्ने गरी ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेशसहित यौनहिंसाविरुद्धका केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ जारी गरिसकेको छ ।
दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेताहरुले शुभकामना दिएका छन् ।
यसैबीच अखिल महिला संघ (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन सुरु हुँदैछ । विप्लव नेतृत्वको नेकपा निकट अनेमसंघ क्रान्तिकारीको नवलपरासीमा हुन लागेको राष्ट्रिय सम्मेलनको उद्घाटन महासचिव विप्लवले गर्ने लागेका छन् । क्रान्तिकारी महिलाहरुले आठ मार्चालाई संघर्षको रुपमा मनाउने गरेका छन् ।