
काठमाडौं । सर्वोच्च अदालतले पुनःस्थापनाको फैसला गरेपछि पहलो पटक आज संसद् अधिवेशन सुरु हुन लागेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दिउँसो ४ बजेको लागि संसद् बैठक आह्वान गरेकी छन् ।
संसद् विघटन गरी मध्यावधि निर्वाचनको निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतले पुनःस्थापना गर्दै १३ दिनभित्र बैठक राख्न आदेश दिएको थियो । सोहीअनुसार सरकारले संसद् बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको हो ।
यो प्रतिनिधिसभाको ७ औं अधिवेशन हो । प्रतिनिधिसभाको छैटौँ अधिवेशन गत असार १७ गते अन्त्य भएको थियो । संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले गत पुसमै अधिवेशनका लागि आवश्यक तयारी गरिसकेकाले अहिले सामान्य सरसफाइ र कोभिड–१९ निसंक्रमणको व्यवस्थापनसहित सबै तयारी पूरा भएइसकेको जानकारी दिए ।
(नेकपा) राजनीतिक रुपमा विभाजन भएपनि कानुनीरुपमा विभाजन भएको छैन । दुबै समूहले दलका नेता र प्रमुख सचेतक फेरबदल गरेका छन् । ओली समूहले देव गुरुङलाइ प्रमुख सचेतकबाट हटाएको छ भने प्रचण्ड-नेपाल समूहले केपी शर्मा ओलीलाई दलको नेताबाट हटाइसकेको छ ।
आजको बैठकमा दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको छ । दुबै समूहले आधिकारिता नभएको अवस्थामा आजको बैठकमा बोलाउने मर्यादाकै क्रममा विवाद हुने देखिएकोक छ ।
संसद् सचिवालयका अनुसार बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताले शुभकामना मन्तव्य दिने र सरकारले विभिन्न अध्यादेश पेस गर्ने कार्यसूची रहेको छ ।
यसैबीच (नेकपा)को ओली समूहले संसद् बैठक अवरुद्ध गर्ने तयारी पनि गरेको छ । सभामुख अग्नी सापकोटाले दलको नेता प्रचण्डलाई मानेर बोलाएमा र कार्य व्यवस्था तथा परामर्श समितिको बैठकमा ओली समूहका प्रमुख सचेतक विशाल भट्टराई नबोलाए संसदमा विवाद हुने देखिएको छ । सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन नगरी प्रचण्डलाई गर्ने सम्भावना रहेको भन्दै ओली समूहले प्रतिकार गर्ने तयारी गरेको छ ।
त्यसैगरी आजकै बैठकमा प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश गर्ने तयारी पनि गरेका छन् ।