
काठमाडौं । प्रमुख प्रतिपक्षी काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । फागुन २३ गते बस्ने प्रतिनिधिसभा बैठकमा सहभागिता र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आउन सक्ने अविश्वास प्रस्तावबारे छलफल गर्न काँग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।
संसदीय दलकी सचेतक पुष्पा भुसालका अनुसार शुक्रबार दिउँसो १ बजे बैठक बोलाइएको छ । बैठकमा दलका नेता तथा पार्टी सभापति शेरबहादुर देउवाले वर्तमान वस्तुस्थितिबारे ब्रिफिङ गर्ने र कसरी प्रतिनिधिसभा बैठकमा पेश हुनेबारे जानकारी गराउने छन् ।
काँग्रेस नेताहरुका अनुसार प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव आए के गर्ने भन्नेबारे पनि दलको बैठकमा छलफल हुनेछ । (नेकपा) दुबै समूहले काँग्रेसको साथ खोजिरहेका छन् । प्रचण्ड-माधव कुमार नेपालले अविश्वास प्रस्तावमा साथ दिन आग्रह गर्दै प्रधानमन्त्रीको अफर गरिरहेका छन् ।
त्यस्तै ओली समूहले पनि काँग्रेसलाई सरकारमा सहभागी गराउने बताइरहेका छन् । तर काँग्रेसले (नेकपा) विभाजनको लफडा नटुंगिएसम्म कुनै पक्षलाई साथ नदिने निर्णय गरेको छ ।