आज :

विप्लव-व‍ैद्यसहित चार पार्टीको धनगढीमा जनसभा, सोचेभन्दा धेरैको सहभागिता

धनगढी । विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्यले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी) सहित चार कम्युनिस्ट पार्टीले धनगढीमा जनसभा सम्पन्न गरेका छन् । चार पार्टीको संयुक्त रणनैतिक मोर्चाले शुक्रबार धनगढीको ख‍ुला मंचमा आयोजना गरिएको कार्यक्रममा शिर्ष नेताहरुले सम्बोधन गरेका छन् ।

मोर्चामा ऋषिराम कट्टेलले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलालले नेतृत्व गरेको वैज्ञानिक समाजवादी पार्टी पनि सहभागी छन् । जनसभालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष कट्टेलले दलाल संसदीय व्यवस्थाका कारण देशको दुर्दसा भएको भन्दै त्यसविरुद्ध आफूहरु एकजुट भएर अगाडि बढेको बताए । उनले संसद् विघटन गर्ने र फेरि पुनर्स्थापना गर्नेजस्ता नाटक भएरहेको बताए ।

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य रामसिंह श्रीसले संसदवादीहरू कुर्सीको लडाइँमा सडकमा ताण्डव प्रदर्शन गरिरहेको भन्दै संयुक्त रणनैतिक मोर्चा जनताको अधिकार रक्षाका लागि सडकमा आएको दाबि गरे । उनले भने यी जनता कसैलाई सरकारमा चढाउँन र ढलाउँन आएका हैनन् यी जनता आफ्नो अधिकारका लागि आएका हुन् उनले भने । सरकारले भ्रष्टाचारी र संरक्षण गरिरहेको मात्र छैन एमसीसीको नाममा राष्ट्रघातसमेत गरिरहेको उनको भनाइँ थियो ।

लिपुलेक, लिम्पियाधुरा र कालापानीको नक्सा प्रकाशन गरेर राष्ट्रवादी देखिन खोजेको सरकारले लिपुलेकको नक्सा प्रकाशित पुस्तक रोकेर दलाल चरित्र प्रदर्शन गरेको श्रीसको धारणा थियो । उनले माथिल्लो कर्णाली अरूण तेस्रो भारतलाई सुम्पिने ‘रअ’ प्रमुख सामु लम्पसार पर्ने सरकार कसरी राष्ट्रवादी ? भन्ने प्रश्न  गर्दै श्रीसले महंगी, कृत्रिम अभाव, कालोबजारीले जनताको जीवन कष्टकर बन्दै गइरहेको भन्दै सरकार कालोबजारीलाई कारवाही हैन संरक्षण गरिरहेको आरोप लगाए ।

जनसभालाई सम्बोधन गर्दै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका अध्यक्ष विश्वभक्त दुलाल (आहुति) ले वर्तमान सरकार दलाल, भ्रष्ट र कमिशनखोरी भएको आरोप लगाउँदै संसदीय व्यवस्था ‍रहेसम्म रहने भएकोले आफूहरु त्यसविरुद्ध एकजुट भएर लागेको बताए । साथै, उनले संविधानमा नभएको व्यवस्थाको प्रयोग गरि राजनीतिक पार्टीमा लगाइएको प्रतिबन्धको घोर विरोध जनाउँदै प्रतिबन्ध यथाशीघ्र फुकुवा हुनुपर्ने माग समेत गरे ।

जनसभालाई सम्बोधन गर्दै राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनीले सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर फासिवादी चरित्र प्रदर्शन गरेको बताए । प्रतिबन्ध लगाएर सरकारले आफैले बनाएको संविधानलाई च्यात्ने मात्र हैन फासिवादी चरित्र प्रदर्शन गरेको छ । दुई तिहाई बहुमतको सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको उनको भनाई थियो । संसार कोरोना भाइरसले आक्रान्त भएका बेला सरकार कोरोना नियन्त्रणमा नभएर भ्रष्टाचार गर्न उद्दत भएको उनको भनाई थियो । सरकारले भ्रष्टाचार गर्नकै लागि सेटिङमा ओम्नी ग्रुपलाई महङ्गोमा ठेक्का दिएको दाबि गरे ।

त्यसैगरी संयुक्त रणनीतिक मोर्चाका केन्द्रीय सदस्य पूर्ण सिंहले अहिलेसम्मका आन्दोलन र क्रान्तिमा जनताको उच्च बलिदान भएपनि नेताहरुले धोका दिएको बताए । उनले अबको दिनमा नेपाली जनताले विगतको जस्तो धोखा नपाउने गरी नयाँ आन्दोलन संगठित भएको बताए ।

धनगढी बजार क्षेत्रबाट आएका जुलुस खुला मंचमा पगेर सभामा परिणत भएका थिए । सोचेभन्दा धेरै राम्रो जनसभागिता रहेको आयोजकले बताएका छन् । यसअघि (नेकपा)को ओली समूह र प्रचण्ड-नेपाल समूहले पनि धनगढीमा यसअघि सभा गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal