
काठमाडौं । केर्नी न्यूज डटकमका सम्पादक उन्नती चौधरी ‘रोटरी जर्नाे अवार्ड’ पत्रकारिता पुरस्कार वर्ष सन् २०१९–२० बाट पुरस्कृत भएकी छन् ।
रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गर्भनर किरणलाल श्रेष्ठका अनुसार आज काठमाडौंमा आयोजित एक कार्यक्रममा यो अवार्डबाट सुदूरपश्चिम प्रदेशबाट पत्रकार चौधरीसहित प्रत्येक प्रदेशका एक–एक जना गरी सात पत्रकार र शिक्षा, स्वास्थ्य, वातावरण तथा महिला बालबालिकालगायत पाँच विधामा निरन्तर कलम चलाउने पाँच पत्रकार पुरस्कृत भएका हुन् । पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ ।
यो अवार्डबाट आर्थिक पत्रकारिता क्षेत्रबाट पुष्पराज आचार्य, वातावरण पत्रकारिता क्षेत्रबाट टीका वन्धन, शिक्षा पत्रकारितातर्फ दीपेन्द्रप्रसाद सिंह, स्वास्थ्य क्षेत्रबाट सम्झना महर्जन, महिला सञ्चारकर्मीतर्फ विनिता रिजाल पुरस्कृत भएका छन् ।
यस्तै प्रदेशअन्तर्गत विनु तिमिल्सिना, श्याम बन्जारा, कमला हमाल, दीपेन्द्र श्रेष्ठ, लक्ष्मी आचार्य र भीमबहादुर सिंह पुरस्कृत भए ।
सोही कार्यक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले स्थापना गरेको ‘बासु रोटरी भोकेशनल अवार्ड अन गुड गर्भनेन्स’ खोजी पत्रकारिता पुरस्कारबाट छापा माध्यमका तर्फबाट आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाल र अनलाइन माध्यमका तर्फबाट हाम्रा कुरा डटकम अनलाइनका सम्पादक अजयबाबु शिवाकोटी पुरस्कृत भए । यो पुरस्कारको राशि जनही पाँच लाख रहेको छ ।