
काठमाडौं । आज प्रजातन्त्र दिवस । आजकै दिन नेपालमा राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको थियो । २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनको सम्झना र सम्मानमा हरेक वर्ष विविध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइन्छ । आज पनि बिभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
दिवसको अवसरमा प्रजातन्त्र दिवस मूल समारोह समितिले आज बिहान सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना गरेको छ ।त्यसअघि आज बिहान ६ः२९ मा नेपाली सेनाले तोप सलामी र बिगुल बजाएर बढाइँ गरेको थियो ।
राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ ।
प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत राजनीतिक पार्टीका नेताहरुले शुभकामना दिएका छन् ।
यसैबीच प्रजातन्त्र दिवसको अबसरमा नागरिकले आज काँडेतार तोडेर टुँडिखेल प्रवेश गर्ने भएका छन् । लडेर प्रजान्त्र ल्याएको तर सैनिकले टुँडिखेल जान निषेध गरेको भन्दै स्वतन्त्रपूर्वक नागरिकले आज दिउँसो काँडेतार तोड्ने भएका छन् । लामो समयदेखि टुँडिखेलमा नागरिकले प्रवेश पाउनु पर्ने माग उठ्दै आएको थियो ।