
नेपालगंज । फागुन १ गते जनयुद्धका उपलब्धी र बलिदानीको सम्झना र सम्मान गर्ने दिन । २०५२ साल फागुन १ गते सुरु भएको जनयुद्धले नेपालको राजनीतिमा ठूलाे उथुलपुथुल मात्रै गरेन, आफ्नो अधिकारीको लागि आवाज उठाउन समेत सिकायो । जनवादी राज्यसत्ताको उद्देश्य लिएर सुरु गरिएको जनयुद्ध गन्तव्यमा पुग्न नपाएपनि क्रान्तिका यात्री र परिवर्तनकामी जनसमुदायले बलिदानी, उपलब्धी र उद्देश्यको सम्झना तथा सम्मान गर्दै आएका छन् ।
जनयुद्धकालिन समयदेखि क्रान्तिकारीले फागुन १ गतेलाई गौरवपूर्ण दिनको रुपमा मनाउँदै नयाँ वाचा र प्रतिवद्धता जाहेर गर्दै मनाउँदै आएका छन् । फागुन १ गते अर्थात जनयुद्ध दिवसको दिन क्रान्तिकारीहरुले विवाह गरेर देश र जनताको पक्षमा लाग्न वाचा गर्दै आएका छन् । जनयुद्धको क्रममा जनवादी विवाह एउटा संस्कृतिकै रुपमा विकास भइसकेको थियो ।
विवाह भन्ने वित्तिकै तडकभडकलाई सम्झाउने हाम्रो समाजमा एकजोडी माला र पाँच रुपैयाँको अबिर खर्चमा गरिने जनवादी विवाहले रुढीवादी विवाह संस्कृतिलाई चुनौती दिँदै आएको छ ।
यसैबीच २६ औं जनयुद्ध दिवसको अबसरमा पनि दर्जनौं क्रान्तिकारी जोडीले जनवादी विवाह गरेर देश र जनताको पक्षमा सँगै लाग्ने प्रतिवद्धता जाहेर गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य प्रितिमा चौधरी र संगठनको बाँके जिल्ला उपाध्यक्ष जीवन दाहालबीच जनवादी विवाह सम्पन्न भएको छ । चौधरी र दाहालले विद्यार्थीको हक अधिकारसँगै देश र जनताको पक्षमा निरन्तर लागिरहने प्रतिवद्धता गरेका छन् ।
संगठनका भेरी-कर्णाली क्षेत्रीय समन्वय समिति संयोजक हर्कबहादुर बिकले चौधरी र दाहालको दापत्य जीवनको सफलताको शुभकामना दिँदै क्रान्तिको उद्देश्य पूरा गर्ने यात्रामा विवाहले थप प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
त्यसैगरी कञ्चनपुरका युवा नेता विरेन्द्र विसी र नेतृ लक्ष्मी जोशीबीच पनि जनवादी विवाह सम्पन्न भएको छ । त्यस्तै, लोकेस चलाउने र रविना चौधरीबीच पनि जनवादी विवाह सम्पन्न भएको छ । नव जोडीले सँगै जनताको पक्षमा संघर्ष गरिरहने प्रतिवद्धता जाहेर गरेका छन् । आफूहरुको विवाहले जनताको पक्षमा आवाज उठाउन थप प्रेरणा मिलेको समेत उनीहरुले बताएका थिए । युवाहरुमा जनयुद्धले स्थापित गरेको संस्कृतिप्रतिको आकर्षणले पनि पुष्ट गर्छ कि जनयुद्ध महान् थियो ।