
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी माओवादीसहित चार पार्टीको मोर्चाले पहिलो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको छ । विहीबार राधजानीमा बृहत कार्यक्रम गरी संयुक्त मोर्चाको सार्वजनिक गरिएको थियो ।
चारै पार्टीका गरी १५ सदस्यीय रणनीतिक संयुक्त मोर्चा घोषणा गरेसँगै पहिलो चरणको संघर्षका कार्यक्रम समेत घोषणा गरिएको छ । मोर्चाले सरकारविरुद्ध माघ २९ देखि फागुन १८ गतेसम्मका संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको हो । पहिलो चरणमा देशभर जनसभा गर्ने निर्णय गरिएको छ । जसमा फागुन ६ गते बुटवल, १४ गते धनगढी र १८ गते इटहरीमा जनसभा गर्ने मोर्चाले जनाएको छ ।
मोर्चामा अन्य ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रहेका छन् । कार्यक्रमामा मोर्चाको अवधारणा पनि सार्वजनिक गरिएको छ ।
रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समितिमा सीपी गजुरेल, राम सिंह श्रीस, पवनमान श्रेष्ठ, सन्तोष बुढा, नवीनकुमार विश्वकर्मा, अज मोहम्मद, ऋषिराम कट्टेल, रामदुलार महतो, राजेश वान्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नविन रिजाल छन् । पछि तीन जना थपिने नेताहरुले बताएका छन् । मोर्चाको पहिलो बैठकले अध्यक्ष र सचिव चयन गर्ने बताइएको छ । मोर्चाले प्रदेश, जिल्ला र आवश्यकताअनुसार स्थानीय तहहरुमा समेत समिति गठन गरिने छ ।
सभामा कसले भने ?
रणनीतिक संयुक्त मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले हिरासत र जेलमा रहेका बिद्रोही नेकपाका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेका छन् । राजनीतिक आस्थाका बन्दिहरुलाई राजनीतिक व्यवहार गर्न पनि उनले ओली सरकारलाई आग्रह गरेका छन् ।
उनले प्रतिनिधि सभाको विघटन संसदीय व्यवस्थाको असफलता भएको भन्दै जनगणतन्त्र र वैज्ञानिक समाजवाद प्राप्तिको लक्ष्य पूरा गर्न आवश्यक परे अन्तिम युद्ध लड्न तयार रहेको चेतावनी दिए । आज देशमा देखा परेको संकट कुनै व्यक्ति विशेषको मात्र नभएर सिंगो व्यवस्थाको असफलता भएको वैद्यको दाबी छ ।
साथै उनले नेपालमा व्यवस्थाको मात्र असफलता नभई दक्षिणपन्थी संशोधनवादको पनि असफलता भएको जिकिर गरे । महासचिव वैद्यले अब केपी ओली र प्रचण्डहरुको दिन गएको बताउँदै नेपालमा क्रान्तिकारीहरुको जित हुने र त्यसको नेतृत्व आफुहरुले गर्ने दाबी गरे ।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले विप्लव नेकपामाथि लगाइएको प्रतिबन्ध ओली सरकारले छिटो फिर्ता लिनुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै कट्टेलले सरकारले प्रतिबन्ध फिर्ता नलिए क्रान्तिकारी जनताले त्यसको प्रतिरोध गर्ने चेतावनी दिए ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै वैज्ञानिक समाजवाद कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुतीले चार कम्युनिस्ट पार्टीको रणनीतिक संयुक्त कार्यक्रमको लक्ष्य पार्टी एकता भएको बताएका छन् । उनले नेपालमा प्रचण्डको वैचारिक विचलनसंगै प्रतिगमन शुरु भएको दाबी समेत गरे ।
दोस्रो संविधान सभाको प्रकिया र संविधान निर्माणको प्रक्रियासंगै प्रतिगमनले जरा समाएको आहुतीको भनाई छ । दलाल पुँजीवाद नै आजको नेपालको बलियो प्रतिगमन भएको आहुतीको दाबी छ । कार्यक्रममा बोल्दै राष्ट्रिय जागरण मंचका संयोजक गुणराज लोहनीले नेपालमा प्रतिगमन २०६८ सालमा जनमुक्ति सेनाको विघटनसंगै शुरु भएको बताए ।
प्रचण्ड माधव समुहको जारी प्रतिगमन विरोधी आन्दोलनबारे बोल्दै लोहनीले अहिले गरिएको आन्दोलनको कुनै अर्थ नरहेको दाबी गरे । नेपालमा अबको विकल्प भनेको चार कम्युनिस्ट पार्टीले अघि सारेको बैज्ञानिक समाजवादी सत्ताको अबधारणा मात्र भएको बताउँदै लोहनीले विप्लव नेकपा अब सडकमा आउनुपर्ने बताए ।
प्रचण्ड समुहको आन्दोलनको कुनै औचित्य नभएको भन्दै लोहनीले अब सबै क्रान्तिकारीहरुले मिलेर अब वैज्ञानिक समाजवादको बाटोमा जानुपर्ने बताए । नेपालमा २०६८ सालमा नै प्रचण्डले जनमुक्ति सेना बुझाएसंगै प्रतिगमन सुरु भएको दावी गर्दै उनले अहिले केवल संसदवादीहरुका लागि मात्रै प्रतिगमन भएको बताए ।