
सुर्खेत । कोरोना भाइरसविरुद्धको खोपको असर कर्णाली प्रदेशमा पनि देखिन थालेको छ । कर्णाली प्रदेश स्वाथ्य सेवा निर्देशनालयका अनुसार कर्णाली प्रदेशमा खोप लगाएकामध्ये ७ जनामा साइडइफेक्ट देखिएको छ।
प्रदेश अस्पताल सुर्खेत केन्द्रमा खोप लगाएका जम्मा २ सय ९८ जनामध्ये ७ जनामा असर देखिएको थियो । जसमा एक जनामा गम्भीर असर देखिएको थियो भने ६ जनामा समान्य ।
निर्देशनालयका निमित्त निर्देशक डाक्टर रविन खड्काका अनुसार खोप लगाएको आधा घन्टाभित्र शरिरमा डाबर आउने, टाउको दुख्ने, रिंगाटा लाग्ने, वाकवाकी आउने र कमजोर महसुस हुनेजस्ता समस्या देखिएका थिए ।
प्रदेश अस्पताल सुर्खेतमा खोप लगाएका ४ जना, मेहेलकुना अस्पताल सुर्खेतमा १ जना र डोल्पा अस्पताल डोल्पामा खोप लगाएका दुई जनामा सामान्य असर देखिएको निर्देशनालयले जनाएको छ। उनीहरुलाई पनि खोप लगाएको केहि समयसम्म टाउको दुख्ने रिंगाटा लाग्ने समस्या देखिएको थियो।
प्रदेश अस्पतालमै उपचार गराएपछि अहिले उनको स्वाथ्य अवस्था सामन्य भइसकेको छ। उपचार पछि ६ जनाको स्वास्थ्य सामान्य भएको र एकजनामा केही असर बाँकी रहेको बताइएको छ ।