
काठमाडौं । आज सहिद दिवस । राणा शासनविरुद्धको लडाइँको क्रममा जीवन बलिदान दिने चारजना सहिदको सम्झनामा विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाइँदैछ ।
प्रजातन्त्रको लागि राणा शासनविरुद्ध बलिदान दिने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ । सरकारले हरेक वर्ष माघ १० देखि १६ गतेसम्म राष्ट्रियस्तरमा शहिद सप्ता मनाउँदै आएको छ । यो वर्ष पनि देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
राणा शासनविरुद्ध लागेकै कारण वि.सं. १९९७ माघ १० गते शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्ड्याएर ह त्या गरिएको थियो । माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी ह त्या गरिएको थियो ।
चारै जना सहिदको सम्झनामा विक्रम संवत् २०१२ सालदेखि काठमाडौं महानगरपालिकाको संयोजनमा सहिद दिवस मनाउँन थालिएको हो । सहिद दिवसको आज अन्तिम दिने शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ ।
शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत हुने छ । सो सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी र जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरुको सहभागिता रहनेछ ।
यस पटक सरकारले शहिद दिवसको दिन दिँदै आएको सार्वजनिक बिदा कटौती गरेको छ । यसअघि सधैं सार्वजनिक बिदा दिने गरिएपनि यसपटक भने सार्वजनिक बिदा दिएको छैन ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको अबसरमा सन्देश दिँदै सहिदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने बताएका छन् । ओलीले शहीदको बलिदानीपूर्ण संघर्षको मार्गदर्शनबाट समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्य सरकारले तय गरेको बताएका छन् ।