
काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक बस्दैछ । प्रतिनिधिसभा विघटन विरुद्ध सडक आन्दोलन र विरोध कार्यक्रमलाई निरन्तरता दिने वा चुनावको तयारीमा लाग्ने भन्नेमा आजको बैठकमा बहस हुने बताइएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रतिनिधिसभा विघटनविरुद्धको सडक संघर्षलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको छ । हिजो पार्टी महामन्त्री शशांक कोइरालाको निवासमा बसेको समूहको बैठकले आज बस्ने केन्द्रीय समिति बैठकमा सडक संघर्षको निरन्तरलाई छलफलको एजेन्डा बनाउने निर्णय गरेको हो । उता सभापति शेरबहादुर देउवा पक्ष भने चुनावको तयारीमा जुट्नु पर्ने बताउँदै आएको छ ।
विघटनविरुद्ध सडक संघर्ष गर्ने या अदालतको निर्णय कुर्ने भन्ने विषयमा काँग्रेसभित्र दुई धार देखिएको छ । सभापति देउवा मध्यावधि निर्वाचनको पक्षमा देखिँदा पौडेल पक्षले विघटनविरुद्धको सडक संघर्षलाई प्राथमिकता दिनु पर्ने अडानमा देखिएको छ ।
बैठकपछि प्रतिक्रिया दिँदै नेता पौडेलले पार्टीले आगामी दिनमा कस्तो कदम चाल्ने भनेर निकटहरुसँग परामर्श गरिएको जानकारी दिनुभयो । छलफलले पार्टीको आसन्न १४ औं महाधिवेसन ग्यारेन्टी गर्न सभापति देउवालाई दवाब दिने निर्णय गरेको छ ।
पार्टी समायोजनको बाँकी काम सकेर माघभित्रै क्रियाशील सदस्यताको टुंगो लगाउन र महाधिवेशनको नयाँ कार्यतालिका सीध्र सार्वजनिक गर्न आजको केन्द्रीय समिति बैठकमा सभापतिलाई दवाब दिने निर्णय भएको छ