
काठमाडौं । देशभर चिसो बढेको छ । पुस लाग्न सुरु गर्दैगर्दा देशभरको तापक्रम तल झरिरहेको छ । पुस १ गते काठमाडौंको तपक्रम ३ डिग्रीमा झरेको थियो भने आज (पुस ३ गते) २ डिग्रीमा झरेको छ ।
विहीबार विहान काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ३ डिग्री सेल्सियसमा झरेको छ । त्यस्तै हिमाली जिल्लाको तापक्रम माइनसमा झरेको छ भने तराईमा बाक्लो हुस्सु लागेको छ ।
जुम्ला, जिरी, जोमसोम लगायतका ठाउँमा तापक्रम माइनसमा झरेको हो । हिजो जुम्लामा सबैभन्दा कम तापक्रम माइनस ७ दशमलव १ डिग्रीमा झरेको थियो ।
अहिले पूर्वी तथा पश्चिमी नेपालको तराई भू–भागमा हुस्सु–कुहिरो लागेको छ । आज दिउँसो प्रदेश नम्बर १ तथा गण्डकी प्रदेशको पहाडी भू–भागहरुमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेकाले बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ ।
आज राति भने देशका पहाडी भू–भागहरुमा आंशिक बदली रहने र बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।