
काठमाडौं । यस वर्ष १२औं मानवअधिकार राष्ट्रिय महा–भेलाको संयोजन कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक)ले गर्ने भएको छ । महाभेलामा मुलुकमा मानवअधिकार र सामाजिक न्यायको क्षेत्रमा कार्यरत विभिन्न संघ–संस्थाहरुको आवद्धता रहेको र यस वर्ष किर्डाक नेपालले त्यसको संयोजन गर्न पाएकोमा आफूहरु निकै उत्साहित भएको सो संस्थाका कार्यकारी निर्देशक तथा महा–भेलाका संयोजक गोबिन्द बहादुर शाहीले अनलाइन डबलीलाई बताए ।
साता ब्यापीरुपमा हुने भर्चुअल बैठकमा मानव अधिकार उल्लङ्घनका घटनाहरुलाई कम गर्न र राष्ट्रिय मानवअधिकार आयोगले सिफारिस गरेका मुद्धाहरुलाई कार्यान्वयन गर्न सरकारसंग जोडदार मागको पहल गरिने संयोजक शाहीले बताए । भोलि हुने कार्यक्रमको अध्यक्षता किर्डाकका निर्देशक शाही तथा प्रमुख अतिथिकारुपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङ रहने आयोजक संस्थाले बताएको छ ।
अन्तर्राष्ट्रिय मानवअधिकार दिवस (डिसेम्बर १०) लाई वृहत रुपमा मनाउन सन् २००९ मा नेपालमा मानवअधिकार तथा सामाजिक न्यायको क्षेत्रमा कार्यरत संस्थाहरुको अगुवाईमा मानवअधिकार राष्ट्रिय महाभेलाको गठन भई राष्ट्रिय मानवअधिकार आयोगसँगको सहकार्यमा सञ्चालन हुदै आएको छ । वार्षिक रुपमा मानवअधिकार महाभेला विभिन्न संस्थाहरुले संयोजन गर्ने परम्परा रहेको छ । यसै सन्दर्भमा सह–संयोजन नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ तथा मानवीय जवाफदेहीता अनुगमन अभियान (हामी) ले गर्ने तय भएको छ । यो महाभेला अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भमा २०७७ मंशिर २४ गते देखि २९ गते (डिसेम्बर ९ देखि डिसेम्बर १३) सम्म पाँच दिन सञ्चालन हुनेछ र यो महाभेलामा मुलुकभरका मानवअधिकार र सामाजिक न्यायको क्षेत्रमा कार्यरत संस्थाहरुको सक्रिय सहभागिता हुनेछ । कोभिड १९ को विश्वव्यापी महामारीका कारण जुम वैठक मार्फत भेला सम्पन्न गरिने जनाएको छ ।