
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल मंगलबार कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगे । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव लिएर खुमलटार पुगेका बताइएको छ ।
ओलीले पौडेलसँग प्रचण्डको प्रस्ताव फिर्ता र नभए सचिवलय बैठक सार्ने सन्देश पठाएको बताइएको छ । खुमलटार स्रोतका अनुसार ओलीले प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता लिनुपर्ने नभए सचिवालय बैठक सार्नुपर्ने प्रस्तावसहित पौडेललाई खुमलटार पठाएका थिए ।
ओलीको प्रस्तावलाई प्रचण्डले अस्वीकार गर्दै बुधबार (भोलि) बैठक बस्नुपर्ने र बैठकबाटै निर्णय गर्न सकिने बताएका थिए । “प्रचण्ड कमरेडले ओली कमरेडको प्रस्ताव अस्वीकार गर्नुभएको छ । उहाँले बैठक स्थगित गर्ने भएपनि भोलिको बैठकबाटै गरौला भनेर महासचिव कमरेडलाई भन्नुभयो” प्रचण्ड निकट एक नेताले भने । उनले अनुसार अध्यक्ष प्रचण्ड र पौडेलबीचको छलफल सकारात्मक भएको समेत उनले बताए ।
महासचिव पौडेलले बैठक अगाडि एक पटक दुबै अध्यक्ष बसेर छलफल गर्न प्रचण्डसँग प्रस्ताव गरेका थिए । तर, प्रचण्डले सबै कुरा बैठकमै गरौं भनेर जवाफ पठाएका थिए ।
कात्तिक २८ गते सुरु भएर स्थगित भएको बैठक बुधबार दिउँसो १ बजे बस्ने तय भएको छ । भोलिको बैठकमा ओलीको जवाफी पत्र, प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावमाथि छलफल हुने कार्यसूची छ । तर, जसरी पनि भोलिको बैठक स्थगित गर्ने योजनामा ओली पक्ष लागेको छ । कुनै पनि हालतमा बैठक स्थगित नभए ओलीले यसअघि सचिवालय बैठक स्थगित गरेजस्तै गरी एकलौटी रुपमा बैठक स्थगित गर्ने वा अनुपस्थित हुने अनुमान गरिएको छ ।
आजै ओलीले दोस्रो तहका नेतालाई वरिष्ठ नेता माधव कुमार नेपाललाई पनि भेट्न पठाएको बताइएको छ । नेपालले पनि बैठक स्थगित गर्न नसकिने भन्ने जवाफ पठाएका छन् । मंगलबार दिउँसो दुबै पक्षका नेताहरु आआफ्नो तयारीमा लागेका छन् । ओली पक्ष जसरी पनि प्रस्ताव फिर्ता नभए बैठक स्थगितको दौडधुमा लागेको छ भने प्रचण्ड–नेपाल समूहका नेता बैठकमा एकमत कुरा राख्ने तयारीमा छन् ।
प्रचण्ड–नेपालले प्रस्ताव फिर्ता वा बैठक स्थगित गर्न तयार नभए ओलीसहति उनको समूह बैठकमा सहभागी नहुन सक्ने (नेकपा)का एकथरी नेताहरु बताउँछन् ।