
तनहुँ । नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता किसानको खेतबारीमा पुगेर श्रमदान गरिरहेका छन् । किसानलाई धान भित्र्याउन चटारो परिरहेको बेला विप्लव नेतृत्वको नेकपाका नेता-कार्यकर्ता आफै धानबारीमा पुगेर सहयोग गरिरहेका छन् ।
दशैंमा आफ्नो घरमा गएर रमाइलो गरेपनि नेकपाका कार्यकर्ताहरु भने किसानको धानबाली भित्र्याउन व्यस्त छन् । देशभरी नै आफ्नै जनवर्गीय र सहयोग संघ संगठनहरुलाई किसानलाई सहयोग गर्न निर्देशन दिएको नेकपाले जनाएको छ ।
यसैक्रममा नेकपका नेता कार्यकर्ता तनहुँले जिल्लाका विभिन्न ठाउँहरुमा किसानलाई सहयोग गरिरहेका छन् । प्रहरीले दशैंमा घर आएको आशंकामा नेकपाका नेता कार्यकर्ताहरुको घरमा छापा मारिरहेको छ । तर नेकपाका नेता कार्यकर्ता भने किसानको धानबाली भित्र्याउन ब्यस्त छन् ।
नेकपाका तनहुँ इन्चार्ज रुवेलले कामको चाप र घर अवस्थाअनुसार किसान किसानलाई धानबाली भित्र्याउन सहयोग गरिरहेका बताए । घरमा काम गर्ने व्यक्त नभएका, सहिद तथा बेपत्ता र पार्टीका नेता कार्यकर्ताका तथा सर्मथक घर परिवारलाई पहिलो प्राथमिकतामा राखेर जनश्रमदान गरिरहेको रुवेल बताउँछन् ।
पहिलो प्राथमिकतामा परेका किसानसँगै धानबाली भित्र्याउन समस्या भएको जानकारी आएमा सहयोग गर्ने नेकपा तनहुँले बताएको छ । सादा पोशाखका प्रहरीले नेता कार्यकर्ताका घरमा रातिराति छापा मार्न थालेको भन्दै इन्चार्ज रुवेलले आपत्ति जनाएका छन् । उनले प्रहरीले त्यस्ता कार्य नरोके प्रतिरोध गर्ने बाध्य हुने चेतावनी दिएका छन् ।