
काठमाडौं । मार्क्सवादी एकता अभियान नेपालको आयोजनामा ‘मार्क्सवाद र नेपालको संबिधान’ भर्चुअल रुपमा भएको अन्तरक्रियात्मक कार्यक्रममा राजनीति पार्टीका नेता, कानुन व्यवसायी र मार्क्सवादका अध्ययताको सहभागीता रहेको थियो ।
शनिबार भएको कार्यक्रममा बोल्दै क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरले सत्तारुढ (नेकपा) ले मार्क्सवादको भ्रष्टिकरण गरेको बताए । उनले मार्क्सवादको मूल्य मान्यता र सिद्धान्तमा विरुद्धमा रहेकोले सत्तारुढ (नेकपा) कम्युनिष्ट नभएको बताउँदै नेपालको संविधानले संसदीय व्यवस्थालाई संस्थागत गरेकोले देश जनताको हितमा नभएको बताए । उनले संविधानलाई खारेजीको सबै मार्क्सवादीहरु एक भएर आन्दोलन गर्नुपर्ने धारणा राखे ।
त्यसैगरी कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माले) का महासचिव सीपी मैनाली, नेपाल कम्युनिस्ट पार्टीका नेता लोक नारायण सुवेदी, किसान संगठन (मसाल) का भैरब रेग्मी, नेकपा बोल्सेबिक पार्टीका अध्यक्ष रबिन्द्र श्रेष्ठ,नेकपा मसालका रामप्रकाश पुरी, सर्बहारा कम्युनिस्ट पार्टीकी नेतृ भावना बिद्रोही र राष्ट्रिय दलित मुक्ति मोर्चाका अध्यक्ष डम्बर बिकलगायतका वक्ताहरुले धारणा राखेका थिए ।
त्यसैगरी वरिष्ठ कानुन ब्यबसायी डा. युबराज संग्रौला र एकराज भण्डारीले नेपालको संविधानका विशेषता र मार्क्सवादी मान्यताबीचको फरकबारे धारणा राखेका थिए ।
बक्ताहरुले नेपाललेको संविधान समाजवाद उन्मुख भनेपनि शासकीय स्वरुप संसदीय ब्यबस्था भएको र मौलिक हकका बिषयहरुमा पटकपटक सरकारले नै उलंघन गरेको कुरामा जोड दिएका थिए । यो संबिधानबाट समाजवादको उद्देश्य पूरा नहुने भन्दै बक्ताहरुले खारेज गरी नयाँ संबिधान र नयाँ समाजवादी ब्यबस्थाको निम्ति आन्दोलन र सच्चा कम्युनिस्टहरुको एकतामा जोड दिइएको थियो।
त्यसैगरी बक्ताहरुले विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध नाजायज भएकोले फुकुवा हुनुपर्ने र गैरन्यायीक थुनछेक ह.त्या बन्द गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको अध्यक्षता अभियानको संयोजक डा. श्म्भु कट्टेलले गरेका थिए भने अभियानको उद्देश्यबारे प्राध्यापक रमेश अधिकारीले प्रष्ट पारेका थिए । त्यस्तै, कार्यक्रमको संचालन अभियानका केन्द्रीय सदस्य महादीप पोखरेलले गरेका थिए भने राजेन्द्र देशभक्तले सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।