
काठमाडौं । युक्रेनी सेनाका अधिकारी सवार विमान दुर्घटना हुँदा २२ जनाको ज्यान गएको छ । राजधानीबाट उत्तर पूर्वमा रहेको विमानस्थलमा सो दुर्घटना भएको हो ।
सैन्य अधिकारी दुर्घटनामा परेकोले घटनालाई ठूलो रुपमा लिइएको छ । युक्रेनी अधिकारीहरुका अनुसार चालक दलका सदस्यहरुको लापरवाहीका कारण राजधानीबाट ४०० किलोमिटर उत्तर पूर्वमा रहेको स्थानमा विमान दुर्घटना भएको बताएका छन् ।
इन्टर फेक्स युक्रेन समाचार एजेन्सीका अनुसार दुर्घटनाअघि चालकले विमानमा केही खराबी आएको संकेत गरेका थिए । विमानमा सैन्य अधिकारी, चालक दलका चारजना सदस्यसहित २८ जना सवार रहेको बताइएको छ ।
यसैबीच युक्रेनका राष्ट्रपति वोल्डामिर जेलेन्स्कीले विमान दुर्घटना भएको पुष्टि गर्दै घटनास्थलको अवलोकन गर्ने बताएका छन् । उनले विमान दुर्घटनाबारे छानविन गर्न समिति गठन गरेको पनि जानकारी दिए ।