
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी चुनावमा पराजित भएपनि सत्ता नछोड्ने बताएका छन् । चुनावको तयारीमा लागेका ट्रम्पको चुनाव हारेपनि सत्ताबाट शान्तिपूर्ण रुपमा बहिर्गमन नहुने बताएपछि अमेरिकी राजनीतिमा तरंग ल्याएको छ ।
राष्ट्रपतिका डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले ट्रम्पको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । चुनाव हार्ने देखेपछि ट्रम्पबाट उक्त अभिव्यक्ति आएको वाइडेनले प्रतिक्रिया दिएका छन् ।
पटकपटक विवादित अभिव्यक्ति दिँदै आएका ट्रम्पले यसअघि सन् २०१६ मा भएको राष्ट्रपति निर्वाचनका बेला पनि यस्तै अभिव्यक्ति दिएका थिए ।
त्यसैगरी ट्रम्पले चुनावको मत परिणाम आफ्नो प्रतिकुल आए सर्वोच्च अदालत पुग्ने चेतावनी पनि दिएका छन् । अमेरिकामा कोरोना महामारीका कारण हुलाकमार्फत मतदान गर्ने तयारी भइरहेको छ ।
चुनावी मैदानमा रहेका ट्रम्पले अहिले नै चुनावमा धाँधली हुन्छ भन्दै मतपरिणाम अस्वीकार गर्ने बताइसकेका छन् । उता चुनाव हुनुभन्दा पहिलै धाँधली हुन्छ भन्नु पराजित मानसिकता भएको विपक्षको आरोप छ।
राष्ट्रपतिका उम्मेदवार वाइडेनले अमेरिकी सरकार चुनावी मतपरीणामलाई कार्यान्वयन गर्न सक्षम रहेको बताउँदै ट्रम्पले हारे उनलाई ह्वाइट हाउसबाट लखेट्ने बताएका छन् ।