आज :

नयाँ खुलासाः यसरी भएको थियो लोडसेडिङ अन्त्य (अन्तरवार्ता)

‌विगत एक दशकदेखि नेपाल विद्युत प्राधिकरणमा कार्यरत रहेका खगेन्द्र शाही उर्जा दक्षता तथा चुहावट नियन्त्रण बिभागमा कार्यरत  छन् । उनले तत्लकालिन उर्जामन्त्री जनार्दन शर्मा र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नजिकबाट सहयोग गरेका थिए ।

त्यति बेला उनि तत्कालिन माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठनको अध्यक्ष रहेका थिए । हाल एमाले र एमाओवादी एकीकरण पश्चात प्राधिकरणमा भएको आधिकारिक ट्रेडयुनियनका सहसंयाेजक तथा स्कुल बिभाग प्रमुखकाे भूमिकामा छन् । उनी ‍विद्युत ईन्जिनियरिङका विधार्थी पनि हुन् ।

देशलाई लोडसेडिङमुक्त गराउन महत्वपूर्ण भूमिका खेलेका  शाहीले लोडसेडिङको अन्त्य कसरी भएको थियाे ? भन्नेबारेमा अहिलेसम्म कसैले पनि नबताएको तथ्यहरु खुलासा गरेका छन् । प्रस्तुत छ शाहीसँग अनलाइन डबलीले गरेको कुराकानीः

केही दिन पहिले नेपाल विद्युत प्राधिकरणको वार्षिकोउत्सव मनाउनु भयो ? विगतमा भन्दा यसपटक के फरक थियो ?

हो, यो वर्ष अलि फरक भयो । कोरोना महामारीको त्रास बोकेर हामी कर्मचारीहरु जनताको सेवामा खटिरहेका छौं । विराटनगर वितरण केन्द्रमा कार्यरत एकजना साथीको निधन भइसकेको छ । यस्तो विषम् परिवेशमा पहिलेजस्तो सबैको भौतिक उपस्थितिमा वार्षिकोत्सव मनाउन सकिएन जुममार्फत मनाउन बाध्य भयौं ।

विगत तीनवर्ष यता नेपाल विद्युत प्राधिकरण वार्षिक मुनाफातर्फ गईरहेको थियो । जसले गर्दा पुरानो संचित रहेको ३७ अर्ब टाटा टट्दै गईरहेको थियो । यो वर्ष प्राधिकरणको कुला नाफा ११ अर्ब हो । पूरानो घाटा पुर्तिभई हाम्रो संस्था यो बर्षबाट करिब ५ अर्ब मुनाफामा गएको छ । सबैभन्दा बढी नाफा गरेको संस्थाको रुपमा वार्षिकोत्सब मनाईयो । तर, कोरोनाका कारण प्राधिकरणले जसरी आम जनतासँग खुशी साट्न चाहेको थियो त्यो हुन पाएन ।

अर्को कुरा हामीले ४ वर्ष अगाडि प्राप्त गरेका सफल कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल समाप्त हुँदैछ । धेरैको चासो अब प्राधिकरणमा कस्तो नेतृत्व आउछ ? वर्तमान कार्यकारी निर्देशकको कार्यकालले निरन्तरता पाउँछ कि पाउँदैन भन्ने जिज्ञासा, चाँसो र चिन्ताको बीचमा वार्षिकोत्सव मनाइयो । यसरी यो वाषिकोत्सव विगतमा भन्दा निकै नै फरक रह्यो ।

देशकै बढी नाफा कमाउने संस्था बनेको कुरा गर्नुभयो, घाटामा रहेको संस्था लोडसेडिङमुक्त गराउँदै नाफामा पुग्दा एउटा जिम्मेवार कर्मचारीको हिसाबले कस्तो लागेको छ ?

संस्था नाफामा जाँदा विद्युतको महशुल घटेको छ, नागरिकलाई केही राहत भएको छ । देशको अर्थतन्त्रमा ठूलो योगदान पुगेको छ । यहाँ कार्यरत कर्मचारीहरुको पनि अब सेवा सुविधाहरु वृद्धि हुनेछन् । यसकारण नेपाल विद्युत प्राधिकरण मुनाफामा जानु भनेको सबै पक्षको लागि खुसीको कुरा हो । प्राधिकरणका कर्मचारीहरु पनि खुशी र गौरवान्ति भएका छौं ।

तपाईँ प्रत्यक्ष खटिरहनुभएको छ, घाटामा रहेको संस्था लोडसेडिङबाट मुक्त हुँदै नाफा पुग्न कसको कति भूमिका रह्यो ? 

२०७३ साल भादौ १ गते नेपाल विद्युत प्राधिकरणको ३१ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माले उद्घोष गर्नु भएको थियो “एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने र एकै वर्षभित्र नेपाल विद्युत प्राधिकरणलाई मुनाफामा लैजाने, यी दुईवटा मेरा कार्ययोजना हुन्, यी कार्ययोजनाहरुमा साथ दिन सम्पूर्ण कर्मचारीहरुलाई आह्वान गर्दछु । यदि यसमा कसैलाई साथ दिन मन छैन भने प्राधिकरण छोडेर गए हुन्छ ।” उहाँले ठिक दुई महिनाभित्र तत्कालिन कार्यकारी निर्देशकलाई हटाएर कुलमान घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्नुभयो । प्राधिकरणका  ४/५ जना उपकार्यकारी निर्देशकहरुले राजीनामा समेत दिए । कार्यकारी निर्देशकको रुपमा कुलमान आएको २ महिनापछि काठमाडौंबाट लोडसेडिङ अन्त्यको अभियान शुरु भयो । मन्त्रीले भनेजस्तै अर्को सालमा नै वार्षिक ८ अर्ब घाटामा गईरहेको संस्था एकाएक मुनाफातिर लम्किन शुरु भयो ।

त्यसकारण म त भन्छु नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ अन्त्य गरी नाफामा जाने जुन सफलता प्राप्त गर्यो, त्यसको पहिलो श्रेय जनार्दन शर्मालाई नै दिनुपर्दछ । उहाँको कार्ययोजना सफल पार्न इमान्दारीपुर्वक अहोरात्र खट्ने, व्यवस्थापनमा उच्च कुसलता प्रदर्शन गर्ने कार्यकारी निर्देशक कुलमान घिसिङलाई दोश्रो श्रेय दिनुपर्छ । उहाँलगायत तत्कालिन प्रधानमन्त्री प्रचण्ड, त्यो भन्दा पहिला लोडसेडिङ अन्त्य गर्न कार्ययोजना बनाउने प्रधानमन्त्री केपी शर्मा ओली र त्यति बेलाका ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, नेपाल विद्युत प्राधिकरणका सम्पूर्ण कर्मचारी साथीहरु सबैको महत्वपुण भुमिका रहेकोछ ।

त्यसैगरी तत्कालिन माओवादी केन्द्रका उर्जा विभाग प्रमुख समेत रहेको नेता लिलामणि पोखरेलको पनि नीति निर्माणमा साथ रह्यो । साथै, पूर्वकार्यकारी निर्देशकहरुका पालामा बनेका संरचनाहरुका कारण पनि लोडसेडिङ अन्त गर्न सहयोग पुगेको कुरालाई पनि भुल्नु हंँदैन । अर्को महत्वपुर्ण भुमिका आम उपभोक्ता र तपाईहरुजस्ता संचारकर्मीहरुको पनिरहेको छ ।

तपाईँ त प्राधिकरणमा कार्यरत कर्मचारीहरुको नेता पनि लोडसेडिङ अन्त्य गर्न कुलमानसँगै अरु कर्मचारीहरुको भुमिका कस्तो रह्यो ?

मन्त्री र कार्यकारी निर्देशकको कार्ययोजनामा कार्यान्वयन गर्न कर्मचारीहरुको महत्वपूर्ण भूमिका रह्यो । कहिले कहीँ लोडसेडिङ कुलमानले मात्रै अन्त्य गरेको हो भन्ने जस्ता कुरा पनि आउँछन् । यदि कर्मचारी साथीहरु पनि रातदिन नखटिएको भए यो सफलता सम्भव थिएन । कर्मचारीहरुकै साथ सहयोग र सर्मथनमा कार्यकारी निर्देशक कुलमानको नेतृत्वमा सबै सफलताहरु प्राप्त भएका हुन् ।

कुलमानको कार्यकाल पूरा हुँदैछ, फेरि पनि निरन्तरता दिनुपर्ने तपाईँहरुको माग किन किन ?

वार्षिकोत्सवको दिन नेपाल बिधुत प्राधिकरण आधिकारिक ट्रेड युनियनका संयोजक तथा ने.वि.प्रा.का संचालक समितिका आमन्त्रित सदस्य रामेश्वर पौडेलले कुलमान घिसिङलाई अर्को कार्यकाल दोहर्याउन सरकारसँग माग गर्नु भएको थियो । त्यो माग स्वभाविक हो । उहाँको नेतृत्वमा हाम्रो संस्थाले ओरालोबाट ‘V’ आकारमा उकालोतिरको बाटो तय गरेको छ । उहाँलाई निरन्तरता दिनुपर्छ भनेर कर्मचारीहरुले माग गर्नु उचित र जायज छ । एक कार्यकाल फेरि निरन्तरता पाउनुभयो भने बाँकी कामहरु पूरा हुनेछन् ।

कुलमान जतिको सक्षम कर्मचारी अरु कोही कर्मचारी छैनन् ?

कुलमान सरभन्दा सक्षम अरु धेरै होलान तर उहाँहरुलाई पहिचान गरेर बाहिर ल्यान सक्नु पर्यो ।

देशलाई लोडसेडिङ मुक्त गराउने अभियानमा तपाईँ पनि अग्रमोर्चामा हुनुहुन्थ्यो, कुलमानले केके गर्नुभयो ?

यो प्राविधिक कुरा ठ्याक्कै बुझाउन गारो हुन्छ तर पनि बुझ्ने भाषामा म केही कुराहरु बुझाउने प्रयास गर्छु । पहिलो, हामीसँग ९२ मे.वा. क्षमताको कुलेखानी स्टोरेज विद्युत गृह छ । जसलाई ६ महिना वर्ष याममा थुनेर सुख्खा याममा ६ महिना चलाउन सकिन्छ । कालिगण्डकी १४४ मे.वा., मर्स्याङ्दी ६९ मे.वा. र मध्य मर्स्याङ्दी ७० मे.वा. जस्ता पावर हाउसहरु छन्, जसलाई दिनमा ५–६ घण्टा थुनेर साँझ वा पिकलोड भएको बेला पूर्ण क्षमतामा चलाउन सकिन्छ । हाम्रो विद्युतको माग दिउँसो कम राति एकदमै कम र साँझ ७ देखि ९ बजे अत्याधिक धेरै र विहानको समय केही बढी हुने गर्दछ । जसले गर्दा बिधुत माग व्यवस्थापन गर्न गारो हुने गर्दछ । कहिलेकाहीँ त राति विद्युत खेर जाने साँझ विहान लोडेडिङ हुने अवस्था आउथ्यो ।

माथि उल्लेख गरेका विद्युत उत्पादन गृहलाई विजुली खपतको अवस्थाअनुसार संचालन गरियो । यस कार्यमा कुलमान सर भार प्रेषण केन्द्र (एल.डि.सि.) मा आफै खटिनु हुन्थ्यो । राती १२-१ बजेसम्म विद्युत गृहका प्रमुखहरुसँग फोनमा सम्पर्क गर्नुहुन्थ्यो । सबै विद्युत गृहका प्रमुखहरु राति १ बजेसम्म डियुटीमा खटिनु हुन्थ्यो । अन्य कर्मचारहरु त रातभरी डियुटीमा खटिनु हुन्छ नै, यो पहिलो कार्य थियो । यो कार्यमा कुलमान सरको विषय विज्ञताले पनि महत्वपुर्ण काम गर्यो । उहाँले पुल्चोक ईन्जिनियरिङ कलेजबाट ऊर्जाको माग व्यवस्थापन बिषयमा स्नात्तकोतर गर्नु भएको हो ।

दोस्रो, हामीले उपभोक्ताहरुलाई साँझ र विहान एकैचोटी आईरन, गिजर, हिटर, वत्तीलगायतका विद्युतिय उपकरणहरु नचलाउन आह्वान गर्यौं । उहाँहरुले मानिदिनु भयो । जसले गर्दा बिधुतको अधिकभार कम भयो र विद्युतको माग र आपूर्ति व्यवस्थापन गर्न सजिलो भयो । उपभोक्तालाई के हुन्थ्यो भने बत्ती भएको बेला सबै काम एकैचोटी गरि हालौं पछि बत्ती गईहाल्छ भन्ने हुन्थ्यो । तर बत्ति जाँदैन भन्ने विश्वास भएपछि सबै काम एकैपटक गर्नु परेन । जस्तो साँझ पानी नतानेर दिउँसो वा विहान तान्ने, कपडा आईरन पनि दिउँसो वा राती गर्ने काम भयो । हो, यसरी उपभोक्ताहरुले पनि विद्युत माग व्यवस्थापनमा ठूलो सहयो गर्नु भएको थियो ।

तेस्रो, २२० के.भि. को ढल्केवार–मुजफ्पुर प्रसारणलाई आयोजना अन्तिम चरणमा थियो । त्यसलाई अस्थायी रुपमा १३२ के.भी. मै भएपनि संचालन गरियो । उक्त बिद्युत सिन्धुलीहुँदै काठमाडौंसम्म ल्याउने काम गरियो । जसले गर्दा राजधानीको लोडसेडिङ घटाउन ठूलो सहयोग पुग्यो । यसको लागि ऊर्जामन्त्री जनार्दन शर्मा र कुलमान घिसिङ आफै ढल्केबार पटकपटक पुग्नु भएको थियो । सबैभन्दा पहिला राजधानीलाई लोडसेडिङ मुक्त गर्नु एउटा रणनीति थियो, जसले गर्दा देशैभरि लोडसेडिङ अन्त्यको सन्देश प्रवाह भयो र उज्यालो नेपालको अभियानमा सारा देश एक भएर जुट्यो ।

चौथो, हाम्रा प्रसारण र वितरण लाईनहरुमा अधिकभार वहन भईरहेका थिए । धेरै ठाउँमा लोड सिफ्ट (भार सार्ने काम) गरियो । जसले गर्दा विद्युत वहन गर्न नसकेर तार चुडिने, ट्रान्सफरमर जल्ने, बत्ती काटिने समस्या घट्यो ।

पाँचौं, त्यति बेलाका अर्थमन्त्री कृष्णबहादुर महराको सहयोगमा ५ अर्ब रकम वितरण लाईनहरुको स्तरवृद्धि गर्न विनियोजन भयो । जसले गर्दा अत्याधिक भार विद्युत कटौती हुने समस्या कम भयो ।

छैठौं, अर्को मुख्य काम अनियमित रुपमा उद्योगी र केही ठूला ग्राहकहरुले पैसा, पावर र पहुँचको आधारमा धेरै समय विद्युत उपभोग गर्ने गरेका थिए । त्यसलाई पनि नियन्त्रण गर्ने काम भयो । जसले गर्दा लोडसेडिङ अन्त्य गर्न सजिलो भयो ।

सातौं, विद्युत गृहहरु वर्षमा एकपटक मर्मत सम्भार गरिन्छ । त्यसको समय फेरबदल गरियो । अभाव भएको बेला विद्युतगृह बन्द नगरी संचालन गरियो । सहज भएको बेलामात्र मर्मत गरियो । यसले पनि लोडसेडिङ अन्त्य गर्न सहयोग पुग्यो । यी लगायत केही आयोजनाहरु पनि पछिल्लो चरणमा सम्पन्न भएर प्रणालीमा विद्युत थप हुनपुग्यो । यसरी लोडसेडिङ अन्त्य भएको थियो ।

देशलाई लोडसेडिङ मुक्त गराएर प्राधिकरण नाफामा गइसकेपछि फेरि पनि कुलमान नै किन ? 

एकथरी उहाँ भगवान हो, चमत्कारिक व्यक्ति हो, उहाँ विना यो क्षेत्र चल्दैन भन्ने जसरी जुन प्रचार गरिएको छ, यो गलत हो । उहाँ सामान्य परिवारमा जन्मेर आम नेपालीसरह दुःख गरी बनेको एक मेहनेती, इमान्दार र क्षमतावान ईन्जिनियरको रुपमा मैले चिनेको छु । तथापि उहाँलाई किन अर्को कार्यकाल थप्ने त भन्ने कुराको पुष्टयाई बुँदागत रुपमा प्रष्ट पार्न चाहान्छु ।

१. अहिल्यै बिद्युत क्षेत्र सफलताको शिखरमा पुगेको नभई सफलातातिर पाईला चाल्न थालेको मात्र हो । नेपालको विद्युत प्राणालीमा अब यो वर्षभित्र १५०० मे.वा. जति विद्युत थपिँदै छ । हाल करिब १३०० मे.वा. विद्युत उपलब्ध छ । हाम्रो उच्चतम माग करिब १३०० मे.वा. हो । अब २५०० देखि ३००० मे.वा. विद्युत हुँदा विद्युत खपत भएन भने प्राधिकरणको त के राज्यकै अर्थतन्त्रमा ठूलो असर पर्छ । वर्षमा अर्वौ रुपैयाँ खोलामा जाने छ । यो सबै भन्दा ठूलो चुनौती हुनेछ । यसका लागि बिद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन निर्माणको योजना अगाडि बढाइएका छन् । ईन्डक्सन चुलो प्रबद्र्यन गर्नुपर्ने छ । उहाँसँग क्षेत्रीय ऊर्जा ब्यापारको अवस्था र विश्व ऊर्जा बजार सम्बन्धी राम्रो ज्ञान छ । यसलाई उपयोग गरि भारत, बंगलादेश अन्य क्षेत्रीय मुलुकहरुसँग नेपालले बिद्युत ब्यापारका ढोकाहरु खोल्न महत्वपुर्ण सहयोग पुग्नेछ ।

२. नेपालको संविधानले परिकल्पना गरे अनुसारको बिद्युत क्षेत्रको पुर्नसंरचना र सोही अनुसारको नेपाल बिद्युत प्राधिकरणको पुर्नसंरचना गर्नुपर्ने, अर्को चुनौती हामीसँग रहेको छ ।

३. सरकारले घोषणा गरेको नेपालको पानी जनताको लगानी कार्यक्रमअनुसार बिद्युत क्षेत्रमा देश विदेशमा बस्नु हुने नेपाली दाजुभाई दिदिबहिनीहरुलाई सहभागी गराई उहाँहरुलाई पनि आर्थिक रुपमा सबल बनाउनु पर्नेछ ।

४. लोडसेडिङ अन्त्य भएपनि हाम्रो विद्युतको गुणस्तर राम्रो छैन । कहिले कम भोल्टेज त कहिले उच्च भोल्टेज आउँदा विद्युतीय उपकरणहरुमा हानी पुग्ने समस्या छ । यो समस्याले उपभोक्ताहरुलाई मात्र सास्ती हुँदैन समग्र विद्युत प्राणाली, ने.वि.प्रा.को वित्तिय पक्ष र यसको छविमा पनि नराम्रो प्रभाव पर्न जान्छ । हाम्रा जिर्ण पोल, तार, ट्रान्सफरमरहरुका कारण उत्तिकै विद्युतिय दुर्टटना भई मानवीय क्षति हुने गरेको छ । एकचोटी विद्युत गयो भने विकशित देशहरुमा उत्तिखेरै अर्थात १÷२ मिनटमै आउँछ तर हाम्रोमा २/३ घण्टा कुनै ठाउँमा त १/२ दिनपनि बत्ती आउँदैन, यी लगायत थुप्रै समस्याहरु हल गर्न विद्युतीय प्रणालीलाई आधुनिकीकरण गर्ने कामको थालनी भएको छ ।

उपभोक्ताले सेवा लिँदा व्यर्होनु पर्ने झन्झट हटाउन स्मार्ट सिस्टमको सुरुवात भएको छ । ने.वि.प्रा.को आर्थिक, प्रशासनिक तथा भौतिक प्रणाली पुरानै ढर्राको छ । यसलाई आधुनिकिकरण गरी स्मार्ट अथवा डिजिटल ने.वि.प्रा. बनाउन इ.आर.पि. (Enterprises Resource Planning) को काम अघि बढेकोछ । हाल देशभरि करिब ८६ प्रतिशत विद्युतिकरण भएको छ । बाँकी १४ प्रतिशत विद्युतिकरण गर्न बाँकी छ । यसैगरी शहर स्वच्छ बनाउन ताररहित शहरको नारा दिएर बिद्युतका तारहरु भूमिगत गर्नेजस्ता थुप्रै कामहरुको सुरुवात भएका छन् ।

हुन त उहाँभन्दा सक्षम अरु पनि हुनुहुन्छ होला तर उहाँलाई निरन्तरता दिँदा के सजिलो हुन्छ भने, उहाँ यी कामहरुसँग अभ्यस्त हुनुहुन्छ । नयाँलाई नेविप्रा र नेपालको ऊर्जा क्षेत्र बुभmनै २।३ बर्ष लाग्छ । उहासँग ठुलो जनसर्मथन छ जसले उहालाई राम्रो काम गर्न हौसला र चुनौती दुवै खडा हुनेछ । उक्त कारण उहाँको कार्य क्षमता झन् बढ्न जानेछ । जसले गर्दा कुलमान घिसिङ हुँदा नै अरुभन्दा ठिक हुन्छ भन्ने लाग्छ ।

५. स्वदेशी तथा बैदेशिक लगानीकर्ताहरु कुलमानको नेतृत्वप्रति आकर्षित भएका छन् । जसले गर्दा बिद्युत बिकाशको लागि चाहिने आवश्यक लगानी जुटाउन सजिलो हुनेछ ।

६. अर्को कुरा उहाँले गर्नुभएको राम्रो कामको लागि न्याय पनि दिनुपर्छ । जसका लागि पनि उहाँको निरन्तरता हुनुपर्छ भन्ने हो । यिनै कारण उहाँलाई कम्तिमा एक कार्यकाल थप्दा देशको लागि राम्रो हुन्छ ।

कुलमानलाई दोस्रो कार्यकाल नदिँदा के फेरि लोडसेडिङ भोग्नु पर्ने हुन्छ ?

अब विद्युत खपत बढाउने बेला आयो लोडसेडिङ त इतिहास भइसक्यो । अब जोसुकै कार्यकारी निर्देशक भएपनि अब लोडसेडिङ त हुँदैन । अब विद्युत खपतको कार्ययोजना बनाउनु पर्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal