आज :

चीनले बनाएको कोरोनाविरुद्ध खोपको तेस्रो चरणको परीक्षण नेपालमा पनि

काठमाडौँ । चीनले बनाएको कोरोना भाइरसविरुद्धको खोपको तेस्रो परीक्षण नेपालमा पनि गर्ने तयारी भइरहेको छ । खोप परीक्षणको लागि आवश्यक प्रक्रिया अघि बढिरहेको बताइएको छ ।

खोप परीक्षणको लागि स्वास्थ्य मन्त्रालयले परराष्ट्र मन्त्रालयमा पत्र पठाएको र त्यसबारे परराष्ट्र र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदबीच विभिन्न चरणमा छलफल भइरहेको छ । नेपालमा औषधि तथा खोपहरूको परीक्षणको नियमन गर्ने अधिकार परिषदलाई छ ।

चीनले नेपालमा पहिलो परीक्षण आफ्नै नागरिकमाथि गर्ने तयारी गरिरहेको छ । चीनले होङ्सी सिमेन्टमा कार्यरत चिनियाँ कामदारमाथि पहिलो परीक्षण गर्ने तयारी गरेको दूतावास स्रोतले बताएको छ ।

होङ्सी सिमेन्टका निर्देशक सतीश मोरले पनि खोप परीक्षणको लागि छलफल भइरहेको बताए । उनले परीक्षणको लागि चीनबाट खोप मगाउन कोशिश गरिरहेको बताउँदै नेपाल र चीन दुबै सरकारले अनुमति दिएमात्रै सम्भव हुने बताए ।

होङ्सी सिमेन्ट नेपालकै सबैभन्दा ठूलो मानिन्छ । उक्त सिमेन्ट कारखानामा चीनको होङ्सी समूह अन्तर्गतको हङकङ रेड लायन नम्बर ३ सिमेन्ट कम्पनी लिमिटेडको ७० प्रतिशत र नेपालको शिवम सिमेन्टको ३० प्रतिशत लगानी छ । होङसीमा २ सय भन्दा बढी चिनियाँ कार्यरत छन् ।

खोप परीक्षणको लागि कम्पनीले फारम भरिरहेको छ । नेपाली कामदार राजिखुशीले परीक्षणको लागि तयार भएमा उनीहरुको पनि गर्ने बताइएको छ ।

खोपको तेस्रो परीक्षणको लागि चीनले नेपाल आउन चाहेको स्वास्थ्य अनुसन्धान परिषद्का अधिकारीहरु बताउँछन् । त्यसको लागि आवश्यक प्रक्रिया पूरा गर्नेबारे परिषदले गृहकार्य अगाडि बढाएको छ ।

विश्वमा १३५ वटा कोरोनाका खोपको ‘प्रि क्लिनिक्ल’ परीक्षणमा भएपनि अहिलेसम्म चीन र रुसले उल्लेखनिय सफलता हात पारेका छन् । अन्य देश र कम्पनी पहिलो र दोस्रो चरणको परीक्षणमै छन् । तर, रुसले खोप दर्ता नै गरिसकेको छ । यसरी खोप उत्पादन गर्ने रुस पहिलो देश भएको छ भने चीन पनि तेस्रो चरणमा छ ।

चिनियाँ जनमुक्ति सेनाको टोलीले तयार गरेको खोप पनि तेस्रो चरणमा छ । चिनियाँ खोपको तेस्रो चरणको परीक्षण यूएई, ब्राजिल र साउदी अरेबीयामा सुरु भइसकेको छ भने पेरू र इन्डोनेशियाले पनि परीक्षणमा सहभागी हुने निर्णय गरेका छन् । नेपालमा पनि जनमुक्ति सेनाले तयार गरेको खोपको परीक्षण गर्ने बताइन्छ ।

विज्ञका अनुसार खोपले तीन चरण पार गरेपछि मात्रै प्रयोग गरिन्छ । त्यसरी नै अहिले कोरोनाविरुद्धको खोपको परीक्षण पनि तीन चरणमा भइरहेको छ । जसमा पहिलो चरणमा अध्ययन अघि बढाइन्छ । खोपले प्रतिरोधी प्रणालीमा पारेको प्रभाव पनि अध्ययन गरिन्छ । यसमा २० वटा खोप सामेल छन् ।

पहिलो चरण पार गरेपछि दोस्रो चरणमा सैयौँको सङ्ख्यामा मानिसहरू सहभागी गराइन्छ । दोस्रो चरणको परीक्षणमा १३ वटा खोप सामेल गरिन्छ । त्यसमा मानिसहरूलाई उमेर समूह अनुसार छुट्याएर खोप दिइन्छ । फरकफरक उमेर समूहमा कस्तो प्रभाव पार्यो भनेर अध्ययन गरिन्छ ।

दोस्रो चरणमा भाइरविरुद्ध लड्न प्रतिरो क्षमता बढाएको संकेत मिलेमा वा सफलता हात लागेमा बल्ल तेस्रो चरणमा प्रवेश गरिन्छ । तेस्रो चरणमा हजारौं संख्यामा मानिसहरुलाई सहभागी गराइन्छ । हजारौँ मानिसहरूमा खोपको सुरक्षा, प्रभावकारीता र दुर्लभ प्रकारका नकारात्मक असर पनि हेर्ने गरिन्छ । अहिले चीन र रुस यो चरणमा छन् ।

अक्सफोर्ड विश्वविद्यालय र ब्रिटिश स्वीडिस कम्पनी एस्ट्राजेनेकाले विकास गरिरहेको खोपको पनि ब्राजिल, अमेरिका, दक्षिण अफ्रिका र भारतमा परीक्षण भइरहेको बताइन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal