काठमान्डौं । पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालका ९ जना अंगरक्षकलाई कोरोना सक्रमण पुष्टि भएको छ । उनको सुरक्षामा खटिने २ जना जनपद प्रहरी र ७ जना सशस्त्र प्रहरीमा कोरोना देखिएको परिवार स्रोतले बताएको छ ।
नेपालका स्वकीय सचिव मोहन गौतमले दिएको जानकारी अनुसार नेपालको सपरिवार र उनको सुरक्षामा खटिएका सुरक्षा निकायको स्वाब बिहीबार संकलन गरेर परिक्षण गरिएको थियो । शुक्रबार आएको रिजल्टले सुरक्षामा खटिने ९ जनामा कोरोना भाइरस देखिएको हो । उनले नेपालका परिवारको बारेमा भने केहि भनेको छैन् ।
यसैबिच शनिबार पर्सामा थप २ जना कोरोना संक्रमितको निधन भएको छ । वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उनिहरुको निधन भएको हो । अस्पतालका अनुसार उनिहरु पर्साको बहुदरमाई नगरपालिकाका ६१ वर्षीय पुरुष र वीरगन्ज महानगरपालिकाका ५८ वर्षीय पुरुष रहेका छन् ।
ति मध्ये बहुदरमाइका ६१ वर्षीय पुरुष मुटु, दम र उच्च रक्तचापका बिरामी थिए । उनको शनिबार बिहान निधन भएको हो । त्यस्तै वीरगन्ज महानगरपालिकाका ५८ वर्षीय पुरुष मृगौला र मधुमेहका बिरामी थिए । उनको हिजो राति निधन भएको थियो ।
दुबै जनाको उपचारको क्रममा निधन भएको नारायणी अस्पतालमा डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।
यसैबिच कोरोनाभाइरस संक्रमणबाट नेपालमा शुक्रबार सम्म ज्यान गुमाउनेको संख्या १३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको थियो ।
हिजो मात्र थप ११ जनाका कोरोना संक्रमणबाट ज्यान गएको थियो । हिजो पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका १–१ जना गरी ११ जनाले ज्यान गुमाएको जानकारी दिएको थियो । ज्यान गुमाउने एउटा मात्रै महिला थिइन् भने १० जना पुरुषका थिए ।